तपाईँ सुन्दै हुनुहुन्छः

झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

झापा । झापाको भद्रपुर नगरपालिका वडा नं २ र ३ को सिमानामा रहेको ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ ।

पुरातत्त्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो ।

उत्खननका क्रममा भेटिएका प्राचीन सुराही लगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा सङ्कलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबध स्थल इशापूर्व एक सय २० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्त्वविद् उद्धव आचार्यले बताउनुभयो । पुरातत्त्व विभागले यहाँ विसं २०५८ देखि हालसम्ममा सातौँ पटक उत्खनन गर्दा विभिन्न सामग्री भेटिएका थिए । विसं २०५८ देखि किच्चकबध स्थलमा पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा सातौँ चरणको उत्खनन कार्य जारी रहेको छ ।

‘यसअघि छ पटकसम्म उत्खनन् गर्दा भेटिएका प्राचीन वस्तुको कार्बन परीक्षण गराइसकेका छौँ’, आचार्यले भन्नुभयो, “त्यसबाट भेटिएका सामग्री दुई हजार दुई सय वर्ष पुरानो भएको पुष्टि भइसक्यो, यसपालिको सातौँ पटकको सामग्रीको परीक्षणपश्चात् अझ नयाँ तथ्य खुल्दै जाने अपेक्षा गरेका छौँ ।” यस वर्ष यही चैत २ देखि सुरु भएको उत्खनन चैत १८ गतेसम्म जारी रहने उहाँले जानकारी दिनुभयो ।

उत्खननका लागि आचार्यको नेतृत्वमा पाँच जनाको टोली सक्रिय छ । टोलीले किच्चकबध स्थलमै बसेर दिनभर उत्खनन कार्य गरिरहेको छ । किच्चकबध स्थललाई धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा प्रचार गरिँदै आए पनि पुरातत्त्व विभागले त्यसको आधिकारिक समय गणना भर्खरै सम्पन्न गरेका हो ।

“यो स्थल दुई हजार दुई सय वर्ष पुरानो हो भनेर प्रमाणित हुनु ज्यादै खुसीको कुरा हो”, सातौँ चरणको उत्खननका लागि आएको पुरातत्त्व विभागको टोलीसँगको भेटपछि इतिहासकार एवम् प्राध्यापक चिन्तामणि दाहालले भन्नुभयो, ‘थाइल्यान्ड, भारत लगायतका मुलुकमा गरिएको वैज्ञानिक परीक्षणले किच्चकबध स्थलको महत्व अझ बढेको छ । यो स्थल धेरै पुरानो हो भन्नेमा अब अन्योल रहेन ।’

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डव मध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा यो स्थान चर्चित छ । किच्चक बधस्थल १० बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ पुरानो र नयाँ गरी दुई वटा किच्चक बधको मूर्ति छन् । त्यसैगरी मानव निर्मित मन्दिर, पोखरी र सभा हल छन् । उत्खनन भइरहेको सीमाभित्र मानव निर्मित सभा हल र मूर्ति रहेकाले त्यसलाई अन्यत्र सारिदिन उत्खनन टोलीले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button