तपाईँ सुन्दै हुनुहुन्छः

‘समितिका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन आवश्यक’

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हालसम्म सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोबारे अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

समितिको आजको बैठकमा सांसदहरुले सरकारलाई निर्देशन दिने मात्रैभन्दा पनि दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद किरणबाबु श्रेष्ठले समितिबाट भएका निर्देशन कति कार्यान्वयन भए वा भएनन् भन्नेबारेमा सरकारबाट जानकारी लिएपछि मात्रै नयाँ कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय दलित आयोग, मानव अधिकार आयोग, मुस्लिम आयोग, मधेसी आयोगलगायतले सरकारलाई दिएका सुझाव कार्यान्वयनको अवस्थाबारे पनि जानकारी लिनुपर्ने उहाँको भनाइ छ । 

सांसद उदयबहादुर बोहराले मुलुकमा सङ्घीयता लागू भएको छ वर्ष भइसकेको अवस्थामा त्यसको कार्यान्वयनबारे समितिले उपसमिति बनाइ अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीयता सबलीकरणका लागि बजेट व्यवस्थापनका निम्ति समिति र अर्थ मन्त्रालयबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 

सांसद इन्दिरादेवी गौतम र जगप्रसाद शर्माले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो । सांसद कृष्णबहादुर रोकाय, दुर्गा गुरुङ र गोपीबहादुर सार्की अछामीले वर्तमान समितिले विगतको समितिले गरेका अधुरा कामलाई पूरा गर्नुपर्ने बताउनुभयो । 

समिति सभापति सोनामगेन्जेन शेर्पाले विज्ञहरुको सुझावका आधारमा समितिले आगामी कार्ययोजना तय गर्ने जानकारी दिनुभयो । समितिका सचिव सीता काफ्ले वाग्लेले समितिको हालसम्म दुई सय ३७ वटा बैठक बसेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button