तपाईँ सुन्दै हुनुहुन्छः

बेगनास तालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने 

पोखरा । कास्की जिल्लाको लेखनाथ स्थित बेगनास ताल किनारामा प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । 

पानीमा खेलिने विभिन्न प्रकारका खेलहरू मध्ये ड्रागन बोट रेस पहिलो पटक कास्कीको लेखनाथमा हुन लागेको हो ।  गत वर्ष पोखराको फेवातालमा भएको  पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ड्रागन वोट रेस भने यस वर्ष राष्ट्रिय स्तरको रुपमा कास्कीको दोस्रो ठुलो बेगनास तालमा आगामी चैत्र ११ र १२ गते हुने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरि ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा ड्रागन बोट रेस प्रतियोगिता हुन लागेको मङ्गलवार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

बेगनास तालको पिप्ले टुडादेखि मन्दरे पार्क सम्मको दुरीमा हुने प्रतियोगितामा करिब १६ समूहको सहभागिता रहन अनुमान गरिएको छ । प्रतियोगितामा पाँच सय र दुई सय मिटर गरि दुई समूहका खेल हुने जनाइएको छ ।

प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्वितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्वितीयलाई ५० हजार र तृतीयलाई रु. २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिएका छन् ।

फागु पूर्णिमाको अवसर पारेर बेगनास ताल बाध किनारमा हुने राष्ट्रिय स्तरको डार्गन बोट दौड प्रतियोगितामा प्रदेश स्तरका टिमहरूको सहभागिता रहेन छ ।

छिमेकी देश चीनबाट सुरु भएको यस प्रकारको प्रतियोगिता अहिले विश्वका ७५ देशमा सञ्चालन हुँदै आएको छ । ड्रागन आकारको डुङ्गामा १२ जनाको समूहले डुङ्गा चलाउने र जुन समूहले निर्धारित दुरी छोटो समयमा पार गर्छ उही समूह विजयी हुने छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेलले यहाँ रहेका सबै तालहरूमा कुनै न कुनै गतिविधि सञ्चालन गर्नका लागि बेगनास ताललाई रोजिएको र पानीमा पनि खेलका कार्यक्रम गरेर यस क्षेत्रको पर्यटन विकासमा जोड पुग्ने बताए ।

समितिको सदस्यहरूमा ड्रागन बोट एसोसिएसनका अध्यक्ष दिपक सुवेदी र पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन समितिका संयोजक देवेन्द्र पौडेल रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button