तपाईँ सुन्दै हुनुहुन्छः

सीमामा आकस्मिक हमलापछि रुसले गर्यो कुर्स्क सहरमा विद्यालय बन्द

मस्को।  किएभ समर्थक मिलिसियाले गरेको हमला र युक्रेनी ड्रोन हमलामा वृद्धि भएपछि रुसले युक्रेनको सीमा नजिकैको कुर्स्क सहरमा मङ्गलबार विद्यालयहरू अस्थायीरूपमा बन्द गरेको छ । 

युक्रेनबाट आफ्नो क्षेत्रमा भएको हमलालाई रोक्न युद्धक विमान, रकेट र तोपखाना तैनाथ गरेको मस्कोको घोषणापछि साताको अन्त्यसम्म विद्यालय बन्द हुने समाचार आएको हो । 

“हालका घटनाका सम्बन्धमा मैले विद्यालयहरूलाई दूर शिक्षामा राख्ने निर्णय लिएको छु”, कुर्स्कका मेयर इगोर कुत्साकले सामाजिक सञ्जालमा भन्नुभयो । उहाँले शुक्रबारसम्म विद्यालय बन्द रहने जानकारी दिनुभयो । 

मस्कोले लडाइँ भएको भनेको कुर्स्क क्षेत्रको ट्योटकिनो गाउँलाई कब्जा गरेको किएभका एक समर्थक मिलिसियाले मङ्गलबार दाबी गरेका छन् । करिब चार लाख ४० हजार जनसङ्ख्या भएको सहर र यस क्षेत्रको राजधानी कुर्स्कबाट करिब एक सय ४० किलोमिटर टाढा अवस्थित ट्योटकिनो युक्रेनको सीमा नजिक छ । 

युक्रेनको सीमा नजिकै रहेको रुसी सहर बेलगोरोडले भोगेको जस्तो आक्रमणबाट कुर्स्क सहर अहिलेसम्म बचेको छ तर हालका दिनहरूमा यो सहरले ड्रोन हमलाहरूको सामना गर्नुपरेको छ । 

रुसी सेनाले मङ्गलबार एक घन्टाको फरकमा कुर्स्क क्षेत्रमा चार युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । सप्ताहन्तमा एक युक्रेनी ड्रोनले कुर्स्क सहरमा एउटा भवन क्षतिग्रस्त बनाएको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button