तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली चिसापानी पुलमा आवागमन बन्द

टीकापुर कैलाली । कर्णाली चिसापानीमा ट्रकसहित पुलमा आगलागी हुँदा पुलमा क्षति भएको छ । आगलागीका कारण पुलका तार (लठ्ठा) जलेपछि पुलमा क्षति भएको छ । लाइटर बोकेको ट्रकमा आगलागी भएपछि आगो नियन्त्रणमा ल्याउन करिब ४ घण्टा लागेको थियो । कैलाली र बर्दियाका विभिन्न पालिकाबाट चिसापानी पुगेका दमकलको सहायतामा आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । 

आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने कर्णाली चिसापानीको पुलमाथि गुडिरहेको ट्रकमा आगो लागेको थियो । लाइटर बोकेर पूर्वबाट पश्चिमतर्फ आइरहेको ना.५ ख.५२९७ नम्बरको ट्रकमा साँझ पौने ५ बजेतिर आगलागी हुँदा पुलको लठ्ठामासमेत आगो सल्केको थियो । 

ट्रकसहित पुलमा आगलागी हुँदा चिसापानी भएर आउजाउ गर्ने सडकमा आवागमन निषेध गरिएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । महेन्द्र राजमार्ग अन्तर्गत चिसापानी भुरीगाउँ सडक खण्डमा सोमबार बेलुकाबाट आवागमन निषेध गरिएको हो ।

बिरगञ्जबाट महेन्द्रनगरतर्फ लाइटर लिएर आउँदै गरेको ट्रकमा कैलाली र बर्दिया जोड्ने कर्णाली नदिको पुलमाथि अकस्मात् आगलागी हुँदा पुलको बायाँतर्फको केबलहरूमा समेत आगो लागेकोले मर्मतसम्भार गर्नुपर्ने भएकाले सडकमा आवागमन निषेध गर्नुपरेको सडक डिभिजन कार्यालय नेपालगन्जका कार्यालय प्रमुख निरज शाक्यले जानकारी दिनुभएको छ । 

साथै अर्को निर्णय नहुँदासम्म कैलालीमा लम्की र बर्दियामा भुरिगाउँदेखि वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button