तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकप : आयोजक झापा ११ बाहिरियो

झापा । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै कोठमाडौंको चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ ।

खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीसँग प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

फागुन १९ बाट सुरु भएको प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि भएको पाँचमध्ये चार संस्करण आर्मी र एक संस्करण मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । मनाङले पहिलो संस्करण जित्दा त्यसयता आर्मी च्याम्पियन हुँदै आएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अङ्गुरकुमार खड्गीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सोझै १४ जना र ११ जना खेल्नुपरेकाले जित निकाल्न नसकेको आरोप लगाए । ‘हार जित त हुन्छ तर रेफ्रीले निष्पक्ष खेल खेलाउन सकेनन्’, उनले भने ।

फाइनल प्रवेशका लागि आफ्नो टिमले आशातीत खेल प्रदर्शन गरेको भन्दै उनले खेलाडीले आफ्नो पोजिसनमै खेलेको बताए ।

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले खेल सोचेभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिए । ए डिभिजन लिगपछिको नयाँ टिम रहे पनि प्रदर्शन सम्झनलायक भएको उनले सुनाए । नयाँ खेलाडी नथप्ने बताउँदै उनले एपिएफसँगको भेट रोचक बन्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button