तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकप : एपीएफ फाइनलमा

झापा । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ फाइनल प्रवेश गरेको हो ।

एपीएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो । एपीएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

चार पटकको विजेता आर्मीले सशस्त्र प्रहरीसँग रक्षात्मक खेल खेलेको थियो । आर्मीले सशस्त्र विरुद्ध खासै मुभ सिर्जना गर्न सकेन । खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा खेलमा अग्रता लिन आर्मी असफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

भोलिको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button