तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकप : झापा ११ सेमिफाइनलमा

भद्रपुर, झापा । आयोजक झापा ११ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

विर्तामोडको डोमालाल रङ्गशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ ले एन्फा मकवानपुर क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

झापाको जीतमा आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईँ र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले एक–एक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काए । पहिलो हाफमा एक गोल गरेको झापा ११ ले दोस्रो हाफमा थप चार गोल गर्‍यो । 

यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुवै टोली चुके । खेलमा मकवानपुरभन्दा झापा बलियो देखिएको थियो । आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् । पहिलो सेमिफाइनलमा एपिएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्नेछन् भने शनिबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा ११ को भेट हुने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button