तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

झापा । झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपमा कठिन जीत निकाल्दै लिग च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी)–लाई १–० ले पाखा लगाउँदै चर्च ब्वाइज अन्तिम चारमा आफूलाई सुरक्षित गरेको हो । चर्च ब्वाइजका विदेशी खेलाडी अवयोमी फकुन्लेले ३६औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको प्लेयर अफ दि म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

बुधवारको खेल त्रिभुवन आर्मी एफसी र मच्छिन्द्र फुटबल क्लबबिच हुनेछ । आर्मी झापा गोल्डकपको चार पटकको विजेता हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाख प्राप्त गर्ने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button