तपाईँ सुन्दै हुनुहुन्छः

देश र जनताको उन्नतिका लागि दलहरू बलियो हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी 

सुर्खेत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रमा देश र जनताको उन्नति, प्रगतिका लागि दलहरू बलियो हुनुपर्ने बताउनुभएको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा आज पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले देशको राजनीति ठिक ढंगले अघि बढाउन पनि दलहरू बलियो बन्नुपर्ने बताउनुभयो । 

उहाँले लोकतन्त्रका तत्त्वहरू भनेको राजनीतिक दलहरू भएकाले दलहरू कमजोर भएमा देश कमजोर हुने बताउनुभयो । उहाँले दलहरूले निश्चित आ–आफ्नो मूल्य मान्यता र आर्दश बोके पनि देश र जनताका लागि राजनीतिक पार्टीहरूले सिद्धान्तनिष्ठ रुपमा कर्तव्य पुरा गर्न आग्रह गर्नुहुँदै दलहरू पूर्वाग्रहबाट माथि उठ्नुपर्ने बताउनुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको उल्लेख गर्नुहुँदै महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताउनुभयो । 

उहाँले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी ५ सय शय्यासम्म पुर्‍याउन आग्रह गर्नुभयो । 

उहाँले भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका लागि बालबालिकाको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button