तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

तनहुँ । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ ।

कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन् । यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०/८१ मा रु ४५ लाख विनियोजन गरिएकामा रु ३० लाख २५ हजार छ सय २९ खर्च भएको लामिछानेको भनाइ छ ।

कृषकलाई फलफूल खेतीमा आकर्षित गराउँदै आत्मनिर्भर बनाउन फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सहयोग गरिएको लामिछानेले उल्लेख गर्नुभयो । कार्यक्रमअन्तर्गत कृषकलाई दुई हजार एक सय १५ कागती बिजु बिरुवा, दुई हजार पाँच सय कलमी बिरुवा, पाँच सय १५ लिची, छ हजार दुई सय ४५ बिजु बिरुवा र नौ सय ८५ कलमी बिरुवा वितरण गरिएको थियो ।

त्यस्तै सात सय ८० निबुवाका बिजु बिरुवा, एभोकाडो दुई सय ९५, आँप एक सय ३०, मेवा चार सय ५०, मेकाडेमिया १०, कटहर १०, केरा दुई हजार आठ सय ७०, जुनार तीन सय ७०, अम्बा दुई सय ५०, सिउँडीफूल एक हजार एक सय ५० गरी १८ हजार छ सय ३५ बिरुवा वितरण गरिएको लामिछानेले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button