तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपति भण्डारी सुर्खेतमा

सुर्खेत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भोली वीरेन्द्रनगरमा हुने प्रदेश स्तरीय ‘कर्णाली महिला सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्न आज सुर्खेत आइपुग्नुभएको छ ।

उहाँले भोली प्रदेश स्तरीय प्रथम ‘कर्णाली महिला सम्मेलन’ को उद्घाटन अघि महिला तथा बालबालिका अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको कर्णाली महिला सम्मेलनमा प्रदेशका ७९ वटै पालिकाका महिला प्रमुख एवं उपप्रमुखसहित प्रदेश सभाका सदस्य, विभिन्न राजनीतिक दलका महिला सदस्य, अन्तर पार्टी महिला सञ्जाल, वीरेन्द्रनगरका आमा समूह, वन उपभोक्ता समूहसहित करिब एक हजार महिलाहरूको सहभागिता रहने जानकारी दिनुभयो ।

हरेक क्षेत्रका सङ्घर्षशील महिलाको सम्मानजनक सहभागितासँगै हक, हित र अधिकार प्राप्तिका लागि दबाबमूलक आवाज बुलन्द गर्न सम्मेलनमा राजनीतिमा सक्रिय महिला, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षिकाहरू, गाउँपालिका महासङ्घ, नगरपालिका महासङ्घ, निजामती कर्मचारी लगायतमा आबद्ध महिलाहरूको समेत सहभागिता रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार अब सुर्खेतको वीरेन्द्रनगरबाट शुभारम्भ गरिएको ‘महिला सम्मेलन’ हरेक वर्ष पालैपालो प्रदेशका अन्य पालिकाहरूले अनुसरण गर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button