तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धको शिक्षा विश्वव्यापी बनाउन ध्यान दिवस घोषणा गराउन पहल गर्छु : उपप्रधानमन्त्री श्रेष्ठ

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आइतबारदेखि शुरू भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहका बिच तीन दिने  त्रिपिटक (पाठ) को उद्घाटन गर्नुभएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताउनुभयो ।

‘एउटा मेरो मनको इच्छा छ, प्रधानमन्त्रीसँग पनि छलफल गरेर बुद्धको मेन टिचिङ जुन छ, त्यसलाई विश्वव्यापी बनाउन ‘इन्टरनेशनल मेडिटेशन डे’ का रुपमा घोषणा गर्न संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव गर्ने पक्षमा छु’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो। उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौँमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाउनुभयो। ‘कुन डे भन्ने कुरा छलफल गरौला तर मेरो हृदयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ’ उहाँले भन्नुभयो।

उहाँले मेडिटेशनलाई गृहमन्त्रालयले शुरुवात गरिसकेको समेत बताए । उनले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरूपान्तरणले मात्रै सुशासन र अपराध न्यूनीकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने बताउनुभयो । ‘गृह मन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान शुरुवात नै गरिसकेका छौँ, अब कारागारहरूमा पनि ध्यानविधि शुरुवात गराउने अभियानमा छौँ’ उहाँले भन्नुभयो

बुद्धले शान्ति र मानवताको जीवनलाई अगाडि बढाउनका लागि ‘आफैलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको आग्रह छ ।

‘बुद्धले आफ्नो बाटो आफैले हिँड्नुपर्छ भनेर भन्नुभएको छ, त्यसैले आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसाथ गरेको छ’ उहाँले भन्नुभयो । तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्वपूर्ण योगदान गर्ने उहाँले बताउनुभयो। गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतमबुद्धको शिक्षाको भण्डार भएको बताउनुभयो। विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट समेत आफूले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको दर्शन र विचारलाई विश्वले अङ्गीकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरूको सङ्ग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताउनुभयो ।  उपाध्यक्ष डा. लामाले बुद्ध दर्शन नेपालको संस्कृति र परम्परा भएपनि विश्वले अङ्गीकार गरेकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो उहाँले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेकाले शान्तिको सन्देश फैलाउनका लागि सरकारले पहलकदमी गर्नुपर्ने बताउनुभयो । 

उद्घाटन समारोहमा चोकी निमा रिन्पोछेले बुद्ध दर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताउनुभयो । यस्तै उद्घाटन समारोहमा अखिल नेपाल भिक्षु महासङ्घका संघनायक र संरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्य, नेपालका लागि श्रीलङ्काका राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो  । त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलङ्का, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाहरूको उपस्थिति रहेको थियो । तीन दिने पाठमा भारतका बौद्ध तीर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button