तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान जारी गर्न स्व सुशील कोइरालाको योगदान महत्त्वपूर्ण’

विराटनगर । पूर्व राष्ट्रपति डा रामवरण यादवले  लोकतन्त्रका लागि प्रतिबद्ध रहनुभएका स्व सुशील कोइरालालाई नेपाली जनताले सदैव स्मरण गरिरहने बताउनुभएको छ ।
 
सुशील कोइराला फाउन्डेसनको आयोजनामा विराटनगरमा आज आयोजित विचार गोष्ठीमा उहाँले स्व कोइराला निष्ठावान्, इमान्दार राजनीतिज्ञ हुनुका साथै संविधान जारी गर्नमा उहाँको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

उहाँले समयसापेक्ष संशोधन गर्दै अगाडि बढेमा संविधान दिगो हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले जनताको पक्षमा संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने बताउँदै राष्ट्रिय आवश्यकता अनुसार यसलाई संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो सङ्घर्ष एवं सफल नेतृत्वका कारण संविधानमा वहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका लगायतका विषय राख्न सफल भएको स्मरण गर्नुभयो ।

संविधान सभा सदस्य एवं पूर्वमन्त्री रोमी गौचनले संविधान सम्झौताको दस्ताबेज भएकोले समय अनुसार संशोधन गर्दै सबैको अपनत्व बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक विश्लेषक एवं प्रा कृष्ण हाछेथुले स्व.सुशील कोइराला दूरदर्शी नेता भएकाले संविधान जारी हुन सकेको चर्चा गर्दै यसलाई गतिशिल र यसको आयु लम्बाउन समयमा अनुसार संशोधन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन संविधानले दिएको अधिकार स्थानियतह सम्म कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । 

फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले स्व. कोइरालाले लोकतन्त्रको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै दलहरूलाई एकै ठाउँमा ल्याई संविधान जारी गर्न सफल हुनु भएको बताउनुभयो ।  

स्व. सुशील कोइरालाको औँ स्मृति दिवसको अवसरमा फाउन्डेसनले विचार गोष्ठीको आयोजना गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button