तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटक २८ प्रतिशतले वृद्धि

गोरखा । मनास्लु संरक्षण क्षेत्रको भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा आर्थिक वर्ष ०७९/०८० को तुलनामा आर्थिक वर्ष ०८०/०८१ मा २८.६४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा सार्क राष्ट्रका एक सय ५९ जना सहित चार हजार चार सय ८४ जना पुरुष र तीन हजार दुई सय १९ जना महिला सहित सात हजार सात ५ जनाले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

आर्थिक वर्ष ०८०/०८१ मा सार्क राष्ट्रका दुई सय ०५ जना सहित पाँच हजार चार सय ८४ जना पुरुष र चार हजार ८९ जना गरी नौ हजार सात सय ८२ जनाले संरक्षण क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्रका छाङ दोर्जे लामाले बताउनुभयो ।

स्थानीय तहको निर्माणसँगै बाटो निर्माणको काम सुधारिएको र पर्यटकहरूका लागि हस्पिटालिटी समेत राम्रो रहेकाले यो वर्ष अझै धेरै पर्यटक आउने, अझै १५ हजार भन्दा बढी पर्यटक मनास्लु संरक्षण क्षेत्रको भ्रमणमा आउने दाबी चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाको रहेको छ ।

अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष पुरानो भैसकेको अवस्थामा यस क्षेत्रको अध्ययन अवलोकनका लागि स्वदेशी र विदेशी नागरिकहरू बहुसङ्ख्यक रुपमा आउनेछन् लामाले विश्वास व्यक्त गर्नुभयो ।

चुमनुब्री क्षेत्रमा कुनै पनि जीव जनावर काटमार गर्न निषेध छ ।नजिकै रहेका मनमोहक हिमाल, प्राकृतिक सम्पदा, पुरातात्त्विक महत्वका गुम्बाहरू, यहाँका कला संस्कृति, भेषभुषाको अवलोकन र मनास्लु हिमाल आरोहणका लागि पर्यटकहरू आउने गर्दछन् । चुमनुब्री गाउँपालिकाले पर्यटकहरूको स्वागत सत्कारका लागि सबै प्रयासहरू गरिरहेको लामाले बताउनुभयो ।

चुमनुब्री क्षेत्रमा सबैभन्दा धेरै पर्यटक सेप्टेम्बर महिनामा र कम पर्यटक जुलाई महिनामा आउने गर्दछन् । स्थानीय सरकारका आएसँगै बिग्रेका बाटोहरू समयमै मर्मत सम्भार हुने गरेकाले पर्यटकहरू खशी हुने गरेको वडा नम्बर ३ का अध्यक्ष रामकुमार गुरुङले बताउनुभयो । ।

यस अघि फिलिमसम्म आउनै बाटो सकस थियो अहिले लार्के, छेकम्पारसम्म नै सहज छ, बाटो जोखिम रहित र ठाउँ ठाउँमा होटलको पूर्वाधारहरू समेत विकास हुँदै गएपछि पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने क्रम रहेको पर्यटन व्यवसायी गणेश कार्कीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पर्यटक अझै बढ्ने अनुमान गरिएको कार्कीको भनाई छ । सेप्टेम्बर महिनामा मात्रै मनास्लु संरक्षण क्षेत्रको भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या दुई हजार ६ सय ५४ रहेको छ । अगस्ट देखि डिसेम्बर १५ सम्म यस क्षेत्रमा विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button