तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको पातारासीमा एक घरमा आगलागी, दुई तले घर पूर्ण रुपमा जलेर नष्ट

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा–२ स्थित तल्फी गाउँ निवासी काल सिंह सार्कीको घरमा आगलागी भएको छ । 

गएराती ११ बजेतिर एक्कासी आगलागी भएपछि सार्कीको दुई तले ८ कोठाको घर पूर्ण रुपमा जलेको छ ।

आगलागीले घर पूर्ण रुपमा जलेपछि काल सिंह सार्कीको २८ जनाको परिवारको बिचल्ली भएको पातारासी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष बल बहादुर बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “गएराती ११ बजेतिर एक्कासी बस्ने कोठाबाटै आगलागी भएको रहेछ । करिब सात तोला सुन, तीन पुस्ते पुराना सिक्का सहित, अन्नपात, भाडाकुडा लत्ताकपडा सबै जलेर खरानी भएको छ । ४०÷५० लाखको क्षति भएको अनुमान छ । प्रहरीले मुचुल्का उठाउँदै छ । क्षतिको एकिन विवरण आउन बाँकी छ ।”

फागुन दोस्रो साता लागे पनि जुम्लामा चिसो घटेको छैन । २८ जना कालसिंह सार्कीको परिवार घर आगलागी भएपछि बिचल्लीमा परेको छ ।

बिहानै ७ बजे आगलागी स्थलमा पुगेर फर्किनुभएकी पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकाया भन्नुहुन्छ “आगलागी भएको खबर पाउने बित्तिकै बिहान ७ बजे तल्फी पुगेर सबै अवस्था बुझेर फर्किएको छु । अवस्था निकै गम्भीर छ । घरका साना बालबच्चा छन् । बस्ने बास, खाने गाँस केही छैन । पीडितको तत्कालीन व्यवस्थापनका लागि केही राहत दिने तयारी छ ।”  उहाँले तत्काल केही महिनालाई पुग्ने खाधन्न, भाँडा, कम्बल, बच्चालाई लगाउने कपडा पालिकाबाट उपलब्ध गराइने जानकारी दिनुभयो ।

“आगलागीबाट मानवीय क्षति भने भएको छैन । २८ जनाको परिवार मध्ये २३ जना भने संयुक्त रूपमै बस्दै आएका थिए । घर जलेर नष्ट भएपछि कालसिंहको परिवार घरबार विहीन भएको छ ।” उहाँले भन्नुभयो । 

“कालसिंहका दुई छोरा तारासिंह सार्की र पूर्ण सार्कीको गत वर्षको मुगुको हिम पहिरोमा परी मृत्यु भएको थियो । गत साल दुई छोराको मृत्यु हुनु यस वर्ष घर आगलागी हुनु कालसिंहलाई ठुलो बज्रपात परेको छ । यो अवस्थामा उनलाई सहयोग तथा राहत तथा उद्धारको खाँचो छ, हामी त्यसैमा केन्द्रित छौँ ।” उपाध्यक्ष रोकाया भन्नुभयो । 

आगलागी के कति कारणले भएको हो भन्ने अझै खुलेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button