तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ’

काठमाडौँ । नेकपा एमाले को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले सत्ता गठबन्धनसँग राष्ट्रिय सभाको निर्वाचनमा भागबन्डा खोजेको भनि गलत प्रचार गरिएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू आधारभूत रुपमा मिलेर जानुपर्ने भएका कारण सत्ता गठबन्धनसँग विगतमा छलफलहरू गरे पनि भागबन्डाका लागि भने प्रस्ताव नगरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले पिडितमैत्री कानून निर्माण गरेर सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन सकिने भएकाले त्यसतर्फ पनि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

आजको बैठकमा केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि समूहगत छलफल भएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा चलेको बैठकमा प्रस्तुत अवधारणाहरूमाथि निष्कर्षमा पुग्न स्थायी कमिटीका सदस्यहरु रहनुभएको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौ वटा समूह विभाजन गरी समूहगत छलफल भएको हो ।

समूहगत छलफलमा उठेका विषयलाई निष्कर्षका रुपमा बैठकमा प्रस्तुत गर्न भूगोलका सात प्रदेशमा सम्बन्धित प्रदेश अध्यक्ष, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास क्षेत्रमा पेम्बा लामा र स्थायी कमिटी समूहका लागि काशीनाथ अधिकारीलाई टोली नेता चयन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताउनुभयो ।

यस्तै बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गर्नुभयो ।

बैठकमा नेकपा एमालेले गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा तथा पार्टीको सङ्गठनात्मक सुदृढीकरण र विस्तार अभियान मिसन ग्रासरुट अभियानका सकारात्मक प्रभावका विषयमा समेत समीक्षा भएको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button