तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक कुर्दै जङ्गबहादुरको न्वारन भएको स्थान भनेर चिनिने बल्कोट पौवा

अर्घाखाँची । जङ्गबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने बल्कोटको पौवा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने लामो इतिहास बोकेको ऐतिहासिक पौवाको पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवाभित्र शिवालय मठ, तथा अन्य मन्दिरहरू समेत रहेका छन् । विक्रम संवत् १९०४ सालमा निर्माण गर्न सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिरहरू निर्माण गरिएको थियो । 

जङ्गबहादुरको बुवा बालनरसिंह राणा आर्मी अफिसर हुनुहुन्थ्यो । उहाँ बारुदखाना प्युठानको प्रमुख हुनुहुन्थ्यो । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइएको थियो । जुम्लामा उहाँ श्रीमतीलाई लिएर जानुभएको थियो । जुम्लामै रहँदा उहाँको श्रीमती गर्भवती हुनुभयो । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वाङ्गलामा रहेको लामपाटी अर्थात् मथुरामा १८७४ सालमा जङ्गबहादुरको जन्म भयो ।   त्यसबेला लामपाटीमा घन घोर जङ्गल रहेकोले नजिकैका पाण्डे थरका कृषकहरूले उहाँको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाई राखिएको थियो । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरूले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको संस्कृतिमा रुचि राख्ने स्थानीय नारायण भट्टराइले बताउनुभयो । सुत्केरी दरिली भएपछि जङ्गबहादुरकी आमा माइती गोर्खा जानुभएको थियो । पछि वीरनरसिंह जङ्गे स्वभावको भएको हुनाले उहाँको नाम जङ्गबहादुर रहेको उहाँको भनाई छ । 

जङ्गबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौँको थापाथलीमा भएको भन्ने गरेका छन् । उहाँ लाम्पाटीमा जन्मिनुभएको थियो । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरूको भनाई रहेको छ । 

इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराज शमशेर जबराले जङ्गबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वारन भएको र पछि त्यसै स्थानमा कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको गाउँपालिकाका पूर्व अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । 

पौवाको विषयमा तत्कालीन राजा सुरेन्द्र शाहको पालामा चार वटा लाल मोहर लागेका थिए । ती लाल मोहर तथा इतिहासकारहरू प्रोफेसर पन्त र जबराको विश्लेषणलाई आधार बनाएर अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेश गरिएको उहाँले बताउनुभयो । आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि जङ्गबहादुर आफैले कर्णेल सनदसिंहलाई लगाउनुभएको थियो । 

पौवा तथा मन्दिर निर्माण गरिसकेपछि सञ्चालनको लागि सयौँ बिगाहा जमिन गुठीमा समेत रहेको छ ।  केही समय अघिसम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो । अहिले पूजाआजा भइरहे पनि दैनिक बाजा बजाउने कार्य भने हटेको छ । 

पौवामा काठका आकृतिमा यौन अङ्ग र विभिन्न यौन आसन देखाइएको छ । पौवा निर्माण गरेका कालीगढको हात राणाकै पालामा काटिएको पनि स्थानीयले बताउँछन् । पौवा निकै आकर्षक भएकाले ती कारीगढले त्यस्तै कलात्मक  पौवा अन्य स्थानमा बनाउन नसकुन् भन्ने हेतुले कारीगढको हात काटिएको भनाई रहेको भएतापनि कसले, कहिले, कसको हात काटेको भन्ने इतिहासकारले उल्लेख गरेका छैनन् । 

कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, रिडीको बगैँचा, पाल्पा अर्गलीको बगैँचा, जोर्तेको पौवा र बाटोमा रहेका गौमुखी धाराहरू निर्माण भएको सामाजिक संस्कृतिको अध्ययन गरिरहेका नारायण भट्टराईले बताउनुभयो । 

बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा.गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्धु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो । महायज्ञ लगाएपछि प्रचार प्रसारमा अघि बढ्न खोजे पनि पर्याप्त हुन नसकेको स्थानीय पीताम्बर खनालले बताउनुभयो । लामो इतिहास बोकेको क्षेत्र भए पनि प्रचारप्रसारमा कसैले चासो नदिएको उहाँको भनाई छ । 

जङ्गबहादुर जन्मिएको स्थानमा समेत आकर्षक पौवा निर्माण गरिएको छ,जसलाई लामपार्टी भनेर चिनिन्छ । यसको महत्व समेत ओझेलमा परेको छ ।

सन्धिखर्क–बल्कोट–तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवा सदरमुकाम सन्धिखर्क देखि १८ किलोमिटरको दुरीमा पर्दछ । सदरमुकाम देखि पक्की सडकको पहुँचमा रहेको ऐतिहासिक पौवाको प्रचारप्रसार गर्न सकेमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button