तपाईँ सुन्दै हुनुहुन्छः

अर्धवार्षिक प्रगति न्युन हुनुको कारणहरूबारे निर्मम समीक्षा हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायहरूको अर्धवार्षिक प्रगति न्युन हुनुकाे कारणहरूबारे निर्मम समीक्षा हुनुपर्ने बताउनुभएको  छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा  आज आयोजित मन्त्रालय र मातहतका निकायहरूको अर्धवार्षिक प्रगति समीक्षा बैठकमा मन्त्री शर्माले मन्त्रालयको अर्धवार्षिक प्रगति कमजोर हुनुका कारणका बारेमा निर्मम भएर समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले दोस्रो त्रैमासिकसम्म मन्त्रालयको पुँजीगत खर्च दुई प्रतिशतमात्र देखिनुलाई राम्रो मान्न नसकिने बताउनुभयो । 

उहाँले नीतिगत समस्या फुकाउन मन्त्रीको हैसियतले आफू तयार रहेको बताउँदै समयसिमा तोकेर गर्ने भनिएका योजनाहरूको कार्यान्वयनमा अग्रसर हुन आग्रह गर्नुभयो । 

मन्त्री शर्माले कानुनको परिधिभित्र बसेर गरिने काममा डर मान्नु नपर्ने उल्लेख गर्नुहुँदै आफूले गर्नुपर्ने जिम्मेवारी पन्छाउने काम राम्रो मान्न नसकिने बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालय र मातहतको निकायका पुँजीगत खर्च सन्तोषजनक नभएको भन्नुहुँदै प्रक्रियामा मात्रै रुमलिएको जस्तो देखिएको बताउनुभयो । 

सचिव सुवेदीले राज्यले माईलस्टोनका रुपमा लिएको योजनाहरूको कार्यान्वयनमा ध्यान दिँदै सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा.अनिता शाह ढुङ्गानाले मन्त्रालयका माईलस्टोनका काम र पुँजीगत खर्च कमजोर रहेको उल्लेख गर्नुहुँदै आयोगले सहजीकरण गर्न परे आफूहरू तयार रहेको बताउनुभयो । 

उहाँले सार्वजनिक सेवा प्रवाहसम्बन्धी योजनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको भन्नुहुँदै मन्त्रालयले सूचना प्रविधिसँग जोडिएका माइस्टोनहरुको कार्य प्रगतिमा जोड दिनुपर्ने बताउनुभयो । 

अर्थ मन्त्रालयका प्रतिनिधि देवनारायण पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई ध्यान दिँदै पूँजीगत खर्च बढाउँदै मन्त्रालयगत प्रगतिमा ध्यान दिन आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको आर्थिक बर्ष २०८०÷०८१ को अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक मन्त्रालयका पदाधिकारी तथा मन्त्रालय मातहतका निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button