तपाईँ सुन्दै हुनुहुन्छः

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा नेता पौडेलको जोड

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पत्रकारले लेखेका समाचारले जनमत निर्माण गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समाचार सामग्री तथा विचार विश्लेषणले जनमत निर्माण गर्ने भएकाले सत्यतथ्यमा आधारित खबर सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले लोकतन्त्रका निम्ति प्रतिपक्षको आवाज महत्वपूर्ण हुने भन्दै प्रतिपक्षले उठाएको आवाजलाई सरकारले सुन्नुपर्ने बताउनुभयो । उहाँले अहिले एमाले प्रतिपक्षमा रहेको बेला सदनमा मुलुकमा व्याप्त समस्याका बारेमा सशक्त ढङ्गले आवाज उठाउँदै आएको बताउनुभयो ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनसङ्गठनभित्र दक्षिणपन्थी अवसरवाद हाबी भएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

एमाले प्रचार विभागका सचिव गगन विष्टले लोकतन्त्र बलियो बनाउने सञ्चार क्षेत्र सङ्कटमा रहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई राज्यले बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहालले लोकतन्त्रको पहरेदारका रुपमा रहेको सञ्चार क्षेत्र आर्थिक अभावका कारण खुम्चिँदै गएको बताउनुभयो ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले लोकतन्त्रका निम्ति योगदान गरेका सञ्चारमाध्यम यतिबेला सङ्कटमा परेकाले सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्बाहाम्फेले सबै सञ्चार माध्यमलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि उपाध्यक्ष पौडेलले उक्त कार्यक्रममा यस वर्षको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु ३५ हजार ३५ रहेको थियो ।

यस्तै रु ३५ हजार ३५ राशिको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार माधव नेपाल (सिन्धुपाल्चोक) लाई प्रदान गरिएको छ । यसैगरी डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार महेश केसी (रुकुम पूर्व,। वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार फनिदेव महत (रौतहट), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काजल तामाङ (काभ्रेपलाञ्चोक) र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार यसिमा महत, (रामेछाप) लाई प्रदान गरिएको छ । ती सबै पुरस्कारको राशि रु २० हजार २० रहेको छ ।

पुरस्कृत हुनुभएका अन्नपूर्णका सम्पादक भण्डारीले नेपाली पत्रकारिता आर्थिक, सामाजिक र राजनीतिक हिसाबले चुनौतीपूर्ण रहेको बताउनुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले धराशायी हुन लागेको सञ्चार माध्यमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button