तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व अर्थमन्त्री पौडेलले गर्नुभयो बेलहिया नाकामा निर्माणाधीन आईसीपीको निरीक्षण 

भैरहवा । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लाको बेलहिया नाकामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

आज बिहान निरीक्षण गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री पौडेलले यो आयोजना (आईसीपी)छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरूको चासो रहेको बताउनुभयो । उहाँले यो आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको उल्लेख गर्नुहुँदै दुई देशका बीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको बताउनुभयो । “आईसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरू भयो भने प्रमुख जिल्ला अधिकारीले समन्वय गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो ।” उहाँले भन्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताउनुभयो। “छिटो काम सुरु गर्नका निम्ति हामीले पनि इनिशियसन लिएका थियौँ”, उहाँले भन्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले० का उपाध्यक्ष नेता पौडेलले आईसीपी दुई देशबीचको व्यावसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताउनुभयो। उहाँले आईसीपीको प्रयोग विभिन्न ठाउँमा हुन लागेको बताउनुभयो । आईसीपी निर्माणले भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई पनि सहज हुने उहाँको भनाइ थियो । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्व मन्त्रीको उपस्थितिमा आईसीपीको संयुक्त अनुगमन गरिएको बताउनुभयो । 

उहाँले परियोजना व्यवस्थापनले दिएको जानकारी अनुसार यो परियोजना निर्माण कार्य सन्तोषजनक अवस्था रहेको बताउनुभयो । प्रजिअ अर्यालले भन्नुभयो, “मूलतः करिब ३० प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको प्रस्तुति रह्यो । त्यो भनेको आफैमा नराम्रो होइन । त्यसमा सबै सरोकारवालाहरुले परियोजनाले सहयोग गर्ने र निर्माण कार्यलाई द्रुत गतिले अगाडि बढाउने सहमति भएको छ ।”

उहाँले सुरुमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने समस्या आफूहरूसँग आएको र स्थानीय पालिकाहरूसँग छलफल तथा संवाद गरिएको बताउनुभयो । निरीक्षणमा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारी, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उप प्रमुख कल्पना हरिजन, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button