तपाईँ सुन्दै हुनुहुन्छः

पौवादुङमा गोल्डकप : उपाधिका लागि आम्तेक र देउराली भिड्दै

भोजपुर । खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा सञ्चालन भएको प्रथम गोल्डकप फुटबल प्रतियोगितामा विजेताका लागि भोजपुर नगरपालिकाको आम्तेक ११ र देउराली फुटबल क्लब च्याङ्ग्रे भिड्ने भएका छन् ।

मङ्गलवार हुने फाइनल खेलमा दुई टिमका बिचमा प्रतिस्पर्धा हुने छ । माघ १ गतेबाट गाउँपालिकाको केन्द्र च्याङ्ग्रेको रङ्गशालामा संंचालन भइरहेको प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरी १६ वटा टिमले सहभागिता जनाएका थिए । गाउँपालिकाको सहयोगमा गोल्डकप तथा बृहत् माघी मेला मूल आयोजक समितिको आयोजनामा फुटबल तथा माघी मेला आयोजना भएको हो ।

प्रतियोगितामा शहिदभूमि गाउँपालिका धनकुटा, अरुण गाउँपालिका, षडानन्द नगरपालिका, दिप्रुङ चुईचुम्मा खोटाङ, आम्तेक ११ भोजपुर, द एट स्टार क्लब चम्पे, नेपाल प्रहरी विराटनगर, छथर गाउँपालिका तेह्रथुम, पञ्चकन्या फुटबल क्लब च्याङ्ग्रे, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका खोटाङ, देउराली फुटबल क्लब च्याङ्ग्रे, तिवारी भञ्ज्याङ फुटबल क्लब, श्रीनयाँ श्रीनाथ गण भोजपुर र फेन्डस क्लब तिवारी भन्ज्याङको सहभागिता रहेको मूल आयोजक समितिका संयोजक चोलप्रसाद आलेले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत विजेता टिमले नगद तीन लाख र उपबिजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनही पाँच हजारका साथमा ट्रफी र उत्कृष्ट खेलाडीले नगद १५ हजार साथमा ट्रफी पाउने आयोजक समितिका सचिव देउमान राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button