तपाईँ सुन्दै हुनुहुन्छः

एसइई परीक्षा हुने नहुनेबारे बहस भइरहँदा परीक्षा प्रणालीमा सुधार बारे छलफल

भक्तपुर । सरकार,संघीय संसद् र शैक्षिक जगतमा माध्यमिक शिक्षा परीक्षा(एसइई)ले निरन्तरता पाउने नपाउने बारे बहस भइरहँदा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले परीक्षा प्रणालीमा सुधार बारे छलफल थालेको छ ।

बुधबार बोर्डको सभाकक्षमा आयोजित विषयगत शिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले सकेसम्म परम्परागत समय तालिका भन्दा छिटो परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न तथा परीक्षा प्रणालीमा सुधार गर्न बोर्ड लागि परेको बताउनुभयो ।

परीक्षा प्रणालीमा गरिने सुधारले शिक्षण सिकाइमा सुधार ल्याउने बताउँदै अध्यक्ष शर्माले विगतका कमीकमजोरी सुधारेर परीक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा प्रश्नपत्र निर्माण बारे विषयगत छलफल गरिने उहाँले बताउनुभयो ।

एसइई परीक्षाको भविष्यबारे संसदमा छलफल भइरहेको र यसले निर्णय गर्ने भए पनि लोकसेवा परीक्षा,८ देखि १२ मा चार बर्ष परीक्षा अन्तर हुन नदिन र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा यो परीक्षाले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले परीक्षामा सुधार गर्न सकिए विद्यार्थीको पठनपाठनमा पनि सुधार हुने बताउनुभयो ।सदस्य सचिव अर्यालले सरोकारवालाले अर्ति उपदेश दिनेभन्दा समस्या समाधानको उपाय बताउनुपर्ने भन्दै प्रश्न पत्र तयार पार्दा विविध कोणलाई दृष्टिगत गरी उपयुक्त प्रश्नपत्र तैयार गर्नुपर्ने बताउनुभयो ।प्रश्नपत्र तयार पार्दा सामुदायिक  र नीजि विद्यालयका मात्र होइन मेचीदेखि महाकालीका विद्यार्थीलाई मध्यनजर गरी परीक्षार्थीलाई न्याय गर्नुपर्ने बताउनुभयो ।

सदस्य सचिव अर्यालले संसदमा प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा कायम नभए पनि सांसदहरूको अभिमत भने यसको निरन्तरतामा भएकाले र परीक्षा नभए विद्यार्थीले नपढ्ने भएकाले परीक्षा नलिनु नेपाली माटो र बानी सुहाउँदो नहुने बिचार ब्यक्त गर्नुभयो ।

बोर्डका सदस्य प्रा.डा.प्रकाशमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै शिक्षाको गुणस्तर परीक्षाले सुधार्ने भएकाले बोर्डले सुधारका लागि सरोकारवाला सबैलाई दिशानिर्देश गर्नुपर्ने बताउनुभयो ।प्रश्नपत्र तयार गर्दा र उत्तर पुस्तिका परिक्षण गर्दा नम्बर दिने योजना बनाउनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाई थियो ।

नमुना प्रश्न अनुसार ,भाषागत त्रुटि नहुनेगरी,प्रश्न बनाउने र विषय विज्ञ-शिक्षकले समन्वय गरी विद्यार्थीको उमेर ,समय,प्रविधि र ,आलोचनात्मक चेत तथा मनोवृत्तिलाई ध्यान दिएर परीक्षाको गुणस्तरीयकरण हुने गरी प्रश्नपत्र निर्माण गर्नुपर्ने सुझाव श्रेष्ठले  दिनुभयो ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका डा.श्यामप्रसाद आचार्यले उचित प्रश्नले मात्र उचित जवाफ प्राप्त हुने बताउँदै गलत प्रश्न निर्माणले सही जवाफ प्राप्त नहुने उल्लेख गर्नुभयो । अहिले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० एसइईको प्रश्नपत्र निर्माणको क्रममा रहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा प्रणालीप्रति प्रश्न उठेको भन्दै परीक्षाले गुणस्तर कायम गर्दै जानुपर्ने र शिक्षण सिकाइमा प्रभावकारी रुपमा सुधार आउनुपर्ने बताउनुभयो । एसइई परीक्षा सञ्चालन नभए कक्षा १२ को नतिजा हालको अवस्थामा थप १० प्रतिशतले खस्कने दाबी गर्नुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका विषय विज्ञ शिक्षकले परीक्षा प्रणालीमा सुधारका लागि सुझाव दिनुभएको थियो ।

यतिबेला यस बर्ष एसइई निरन्तर सञ्चालन हुन्छ वा खारेज हुन्छ भन्नेबारे अन्योल छ । सरकारले एसइई परीक्षाबारे यकिन निर्णय लिन नसक्दा एसइई तयारीमा रहेका करिब ४ लाख विद्यार्थी, अभिभावक र शिक्षक चिन्तित छन् ।

यस विषयमा सांसदहरूले पनि प्रश्न उठाएका छन् । मङ्गलवार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदले एसइईबारे के गर्ने सोच छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सांसदको प्रश्नको जवाफमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले विद्यालय शिक्षा विधेयक संसदमा विचाराधीन रहेकोले त्यो विधेयक पास भएपछि मात्रै यसबारे थप केही निर्णय होला तर अहिलेलाई पहिलाजस्तै एसइई परीक्षा हुन्छ भन्नुभयो ।

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० पास भएमा यस विषयमा टुङ्गो लाग्नेछ ।अहिले प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा खारेजीको प्रस्ताव गरिएको छ ।

सरकार माघभित्र हिउँदे अधिवेशन बोलाएर सबै ऐन पारित गर्ने योजनामा जुटेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि छिटो नै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पुसदेखि चैतसम्म संसद्को हिउँदे अधिवेशनको समय मानिन्छ । यता राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष चैत पहिलो साता एसइई परीक्षा हुने भनी कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । यसबिचमा ऐन पारित भएमा शिक्षा विधेयकमै खारेजीको प्रस्ताव गरिएकाले संशोधन नपरे एसइई परीक्षा खारेज हुने देखिन्छ ।

लामो समयदेखि अड्किएको शिक्षा विधेयक गत असोज २५ गते सांसदबाट पारित भई दफावार छलफलका लागि शिक्षा समितिमा पेस भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले भने ढुक्क भएर परीक्षाको तयारी गर्न  विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button