तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दाबी

तेल अभिव, इजरायल ।  उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । 

इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच , भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ ।

हालैका हप्ताहरूमा, १६२ औँ डिभिजनको कमान्डमा १४ औँ रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजा पट्टीमा हमास आतङ्कवादी सङ्गठनका नेता याह्या सिनवारको गोप्य बासस्थान (अपार्टमेन्ट) फेला पारी नष्ट गरेको छ ।

उक्त अपार्टमेन्ट उत्तरी गाजा पट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षा बलले जनाएको छ ।

रक्षा बलका अनुसार, “याहलोम युनिटका सैनिकहरूले थप प्राविधिक साधनहरू प्रयोग गरेर अपार्टमेन्टको खोजी गरेका थिए । अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरुङ मार्ग रहेको थियो ।

सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने गरेको बताइएको छ । 

“यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो । यसमा हमासका वरिष्ठ अधिकारीहरू सरेका थिए र सञ्चालन गरेका थिए । “उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरुङ बनाई आफ्ना रणनीतिक कामहरू गर्दै आएको”, इजरायली रक्षा बलले जनाएको छ, “सुरुङभित्र विद्युतीय सञ्जाल, भेन्टिलेसन र ढल निकास पूर्वाधार, लुकेको सामग्री, प्रार्थना कक्ष र विश्राम कक्षहरू फेला पारेका थिए ।”

सुरुङभित्र रहन र लामो समयसम्म यसबाट युद्ध गर्न सम्भव हुनेगरी निर्माण गरिएको थियो । इजरायली सेनाले याहलोम युनिटका सैनिकहरूले सुरुङलाई नष्ट गरेका छन् । 

रक्षा बलले याहलोम युनिटका सैनिकहरूले सुरुङको मार्ग पत्ता लगाएको र सुरुङभित्र सुरक्षा जाँचसमेत गरेको फुटेज साझा गरेको छ । सेनाले हमासको मुख्यालय क्षेत्रमा सुरुङहरू भत्काएको फुटेज पनि साझा गरेको छ । 

गुप्तचर सूचनाको आधारमा लडाकुहरूले हमास आतङ्कवादी सङ्गठनका कार्यकर्ताहरूको दर्जनौँ घरहरूमा छापा मारेका र त्यहाँ फेला पारेका विस्फोटक पदार्थहरू नष्ट गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button