तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा ‘तातो हावा (लु) प्रतिकार्य कार्यक्रम’ सञ्चालन

नेपालगन्ज । नेपालगन्ज तातो हावा (लु) को उच्च जोखिममा छ । गर्मी समयमा चल्ने तातो हावा ‘लु’ को उच्च जोखिमबाट बच्न पूर्व तयारी आवश्यक छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगन्जमा ‘लु’ प्रतिकार्यका लागि काम गरिरहेको छ ।

बढ्दो कार्बन उत्सर्जनले जलवायुमा ल्याइरहेको परिवर्तनको असरले विश्व तापमान वर्षेनी उकालो लागिरहेको छ । विश्वमै ‘लु’ एक गम्भीर विपद्को रुपमा देखिएको छ । नेपालगन्जका लागि पनि ‘लु’ समस्याका रुपमा रहेको छ । अमेरिकन रेडक्रस र क्लाइमेट सेन्टरको सहयोगमा नेपाल रेडक्रस बाँके शाखा गत वर्षदेखि ‘लु’ प्रतिकार्यका लागि क्रियाशील छ । नेपालमै पहिलोपटक ‘पाइलटिङ’ का रुपमा नेपालगन्ज उपमहानगरपालिकामा ‘लु प्रतिकार्य कार्यक्रम’ सञ्चालनमा छ ।

नेपालगन्जमा आज यो कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र नेपालगन्ज उपमहानगरपालिकाबीच साझेदारीपत्र आदानप्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र रेडक्रसका बाँके सभापति गोवर्द्धन सिंह सम्झनाले समझदारीपत्र आदानप्रदान गर्नुभएको हो । उक्त कार्यक्रममा रेडक्रसका रुद्र अधिकारी र दोलख डाँगीले ‘लु प्रतिकार्य’ का लागि भइरहेको क्रियाकलाप, गर्नुपर्ने काम, प्रतिकार्य योजना निर्माण र कार्यान्वयन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा चिसो छानो निर्माण, कुलिङ सेन्टर स्थापना, सचेतना प्रवर्द्धन लगायतका गतिविधि सञ्चालन गर्ने तयारी गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले तातो हावा (लु) नेपालगन्जको प्रमुख विपद्का रुपमा देखा परेको भन्दै यसबाट बच्न पूर्व तयारी र पूर्व अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो । त्यसका लागि रेडक्रससँग सहकार्य गरेर प्रतिकार्यका लागि काम गरिरहेको विष्टको भनाई छ । उहाँले नेपालगन्ज उपमहानगरपालिका विपद प्रतिकार्यका लागि गम्भीर ढंगले लागिपरेको बताउनुभयो ।

रेडक्रसका सभापति सम्झनाले आपसी सहकार्यले विपद विरुद्ध जुध्न स्थानीय सरकारको उत्थानशीलता अभिवृद्धि हुने बताउनुभयो । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपत् तथा वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, विपत् तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, पूर्वाधार समिति संयोजक बसन्त कनोजिया लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button