तपाईँ सुन्दै हुनुहुन्छः

छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

बेल्ट एण्ड रोड इनिसियटिभको १० औँ वार्षिकोत्सव तथा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले त्यस्तो बनाउनुभएको हो ।

छिमेकीहरूले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुशी रहेको औँल्याउँदै उहाँले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मक रुपमा बढाउनुपर्ने बताउनुभयो । ‘चिनियाँ सहयोगमा नेपालमा महत्वपूर्ण आयोजनाहरू अघि बढ्ने हाम्रो अपेक्षा रहेको छ । नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाण्डौं–लुम्बिनी रेलमार्गजस्ता आयोजनाहरू अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिने छ’– मन्त्री शर्माले भन्नुभयो– ‘छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरूमा नेपाल राष्ट्रहित अनुकूल हुने गरी सामेल हुँदै आएको छ ।’

चीनले बेल्ट एन्ड रोड इनिसियटिभ -बीआरआई_ सुरु गरेको दश वर्ष पूरा भएको अवसरमा बधाई दिँदै उहाँले यो अवधमा १५० देश र ३० वटा अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहायता प्लेटफर्मको रुपमा यो परियोजना स्थापित हुनु महत्वपूर्ण प्रगति भएको र यसबाट नेपालले पनि यथोचित लाभ लिन अझै मेहनत गर्नुपर्ने काम बाँकी नै रहेको बताउनुभयो ।

संसारमै सबैभन्दा धेरै जनसङ्ख्या भएको चीनमा ठूलो सङ्ख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये वर्षेनी केही प्रतिशत मात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन प्रवर्धनमा कायापलट हुने हाम्रो विश्वास उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र चीनबिच खासगरी नुन, उन र सुनको ब्यापार विनिमयबाट दुई देशको सभ्यता र सम्बन्धको सुरुवात भएको उल्लेख गर्दै उहाँले आजका दिनमा दुवै देशबिचको ब्यापार दर बढाउनुपर्ने र नेपालले वर्षौँदेखि बेहोर्दै आएको ब्यापार घाटा कम गर्न चीनसँगको ब्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको पनि स्पष्ट गर्नुभयो ।

उहाँले यो सम्मेलनले नेपाल र चीनको आपसी सम्बन्धलाई थप बलियो बनाउन तथा दुवै देशका मिडिया र पत्रकारहरूबिचको सम्बन्ध थप सुमधुर बनाउँदै आपसी अनुभव र सहयोग आदानप्रदानका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्दै पत्रकारिताका विश्वव्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गरी त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा राजनीतिकर्मी र मिडियाकर्मी सँगसँगै उभिएर राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सफल बनाउँदै पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न सफल भएको स्मरण गराउँदै मन्त्री शर्माले राजनीतिक आन्दोलनहरूले व्यवस्था परिवर्तन गरे पनि परिवर्तित व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन हुन नसकेको राजनीतिक र मिडिया दुवै क्षेत्रको साझा बुझाइ रहेकाले अब राजनीति र पत्रकारिता दुवैको मिसन जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु रहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button