तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यको बजेट प्रभावकारी रुपमा सदुपयोग गर्न प्रदेश स्वास्थ्यमन्त्री सिंहको निर्देशन

धनुषा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्यमा आएको बजेट प्रभावकारी रुपमा सही सदुपयोग गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । 

आज जनकपुरधाममा आयोजित स्वास्थ्य क्षेत्रमा सार्वजनिक वित्तीय व्यवस्थापन  र खरिद व्यवस्थापन उपलब्धि , विद्यमान चुनौती तथा अगामी कार्यदिशा सम्बन्धि नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो निर्देशन दिनुभएको छ । उहाँले कार्यक्रममा सहभागी मधेश प्रदेशका स्वास्थ्य संस्था, प्रादेशिक अस्पतालका प्रमुखहरूलाई स्वास्थ्य क्षेत्रमा आएको बजेट प्रदेशगत हिसाबमा थोरै भएपनि त्यसको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनसङ्ख्याको हिसाबले मधेश प्रदेशमा अन्य प्रदेशको तुलना कम बजेट दिएको गुनासो समेत गर्नुभयो । मधेशको स्वास्थ्य अवस्था सुधार्न र गुणस्तरीय सेवा प्रवाह गर्न सबैको सार्थक सहयोग हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल सरकारको समतामूलक र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता र पहलमा सहयोग पुर्‍याउन बेलायत सरकारको आर्थिक र प्राविधिक सहयोग सहयोगमा सन् २०१६ देखि सञ्चालन हुँदै आएको नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमद्वारा आयोजित सो कार्यक्रममा सार्वजनिक लेखा समिति मधेश प्रदेशका सभापति मञ्जु कुमारी थापा,  महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा यादव,  संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव लक्ष्मी प्रसाद जोशी, विकास साझेदार निकाय तथा विभिन्न दातृ तथा सहयोगी निकायका स्वास्थ्य विज्ञ, स्वास्थ्य संस्था र अस्पतालको प्रमुखहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वास्थ्य क्षेत्रको र सार्वजनिक वित्तीय व्यवस्थापन, विद्यमान अवस्था, जोखिम चुनौती र अगामी कार्यदिशा सम्बन्धमा वृहत् छलफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभागीय प्रमुख डा. ईन्द्रजित कुमार रजकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button