तपाईँ सुन्दै हुनुहुन्छः

विकट गुम्बा गाउँमा विद्युतीकरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित विकट गुम्बा गाउँमा विद्युतीकरण सुरु भएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलवार विद्युतीकरण उद्घाटन गर्नुभयो । सांसद सापकोटाले गुम्बा गाउँमा आयोजित कार्यक्रममा बिजुली बालेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।

गत बर्ष सुरु विद्युतीकरण कार्यक्रममार्फत जुगलका लेकाली गाउँहरू अम्बा खर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ ।

निवर्तमान सभामुख, माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधव सापकोटाको पहलमा जुगल गाउँपालिका ३ ( साबिकको गुम्बा गा. वि. स) को गुम्बा, क्याङसिङ र अम्बा खर्कमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रेशम स्याङबो, विद्युत् प्राधिकरण लामोसाँघु वितरण केन्द्रका प्रमुख दिपक सापकोटा, माओवादीका जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु,पदम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

माथिल्लो भेगका गाउँहरू तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माणको काम भइरहेको छ । यही रफ्तारमा काम हुँदा आगामी वैशाखसम्म बाँकी तीन वटै गाउँमा बत्ती बल्ने गाउँपालिका अध्यक्ष स्याङबोले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button