तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि बुटवलमा नेपाली कांग्रेस प्रदेश सम्मेलन

रुपन्देही । नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन शनिबारदेखि सुरु हुँदैछ।

बुटवलको बुटवल सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनको तयारी पूरा भएको नेताहरुले बताउनुभएकाे छ । 

प्रदेश सभापति अमरसिंह पुनले बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्ने गरी तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ ।

 १६ र १७ गते चल्ने सम्मेलनमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनको उद्घाटनको दिन १६ गते भने पार्टीका नेता कार्यकर्तासमेत गरी ७ देखि १० हजार जना सहभागिता हुने अपेक्षा सो पार्टीले गरेको छ । शुक्रबार नै सो पार्टीका नेताहरू बुटवल आएका छन् ।   उद्घाटन सत्रपछि  राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुनेछन् ती प्रतिवेदनमाथि प्रतिनीधिहरुको छलफलपछि पार्टी आगामी कार्यदिशा  तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button