तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमा आँधीका कारण बाह्र व्यक्तिको मृत्यु, आठ सय गाउँ विद्युतविहीन

युक्रेन। युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन् ।

रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबार आँधीबेहरी र हिमपात भएको छ ।

युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो ।

युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले भन्नुभयो, “आँधीका कारण१२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौं गाउँहरू विद्युतविहीन भएका छन् ।

राज्यको दक्षिणी क्षेत्रमा आँधीले पु¥याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको कीएभले बताएको छ ।

युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ‘८१२ बस्ती ऊर्जाविहीन’ भएको जनाएको छ ।

खराब मौसमका कारण ३६८ गाउँहरूमा प्रत्यक्ष असर परेको छ भने बिग्रिएका लाइन मर्मत गर्ने क्रममा अन्य ४४४ गाउँमा बिद्युत सेवा अवरूद्ध बनेको छ ।

युक्रेनले आफ्नो ऊर्जा ग्रिडमा आक्रमण गर्ने डरलाग्दो नयाँ रूसी अभियानविरूद्ध हप्तौंदेखि तयारी गरिरहेको बताएको छ । यस्ता आक्रमणहरूले गत हिउँदमा लाखौंलाई अँध्यारो र चीसोमा दिनरात काट्नु परेको थियो ।

युक्रेनको सरकारी ऊर्जा कम्पनी युक्रेनेर्गोका अनुसार सबैभन्दा कठिन अवस्था दक्षिणी ओडेसा र खेरसन क्षेत्रमा रहेको छ ।

छिमेकी स्लोभाकिया, रोमानिया र मोल्दोभाबाट रातिको समयमा विद्युत् आयात गरिएको युक्रेनेर्गोले बताएको छ ।

आँधीका कारण क्रिमिया र दक्षिणी रूसमा चार जनाको मृत्यु भएको मस्कोबाट प्राप्त जानकारीमा उल्लेख छ ।

क्रेमलिन समर्थित क्रिमियाका नेता सर्गेई अक्स्योनोभले प्रायद्वीपका मुख्य शहर सिम्फेरोपोल र समुद्री किनारको रिसोर्ट याल्टासहित १५ वटा नगरपालिकामा ‘आपतकालीन’ अवस्था घोषणा गरिएको बताउनुभएको छ ।

उहाँले करिब ४३ हजार मानिस विद्युत्विहीन रहेको र ‘मर्मतको काम’ भइरहेको बताउनुभयो ।

सोमबार आएको आँधीका कारण दक्षिणी रुस, क्रिमिया र कब्जा गरिएको युक्रेनका करिब २० लाख मानिस विद्युतविहीन भएको मस्कोले बताएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button