तपाईँ सुन्दै हुनुहुन्छः

झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्राको शुभारम्भ एमाले अध्यक्ष ओलीले गर्नुहुने

धनगढी । नेकपा एमालेले मङ्सिर १४ गते देखी ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० शुरु गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट सङ्कल्प यात्राको शुभारम्भ गर्नु हुने छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले विकास र समृद्धिका लागि पार्टीले पश्चिम झुलाघाटदेखि पूर्व चिवाभञ्ज्याङसम्म सङ्कल्प यात्रा विशेष अभियान थालेको बताउनुभयो । उहाँले करिब तीन साता सम्म चल्ने यात्राका क्रममा मध्य पहाडी लोकमार्गका प्रमुख शहरमा ठुला तथा साना आमसभा गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

एमाले प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले सङ्कल्प यात्राका क्रममा जनतासँग प्रत्यक्ष जोडिएका विषयवस्तुलाई नीतिगत आधार तयार पारिने बताउनुभयो । उहाँले सुदूरपश्चिमका तीन जिल्लामा आमसभा गरिने बताउनुभयो ।

पदयात्राका लागि अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल धनगढी हुँदै बैतडी जाने कार्यक्रम रहेको छ । अध्यक्ष ओली आज धनगढी आउनुहुने एमाले प्रदेश सचिव रण बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button