तपाईँ सुन्दै हुनुहुन्छः

गणित विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन

काठमाडौँ । गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौँमा आयोजित तीन दिने सम्मेलन आज सम्पन्न भएको छ ।

गणित विज्ञानमा नेपाली महिला नामक संस्थाको आयोजनामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, फ्रान्स र नेपालका गरी ५८ जना महिला गणित शिक्षक एवं विद्यार्थीको सहभागिता थियो । सम्मेलनमा गणितका विविध पक्षलाई समेटेर ३९ वटा कार्यपत्र प्रस्तुत भएको संस्थाका कार्यसमिति सदस्य सुस्मिता पाठकले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा हीराबहादुर महर्जनले नेपालमा गणित विषयप्रति देखिएको निराशाले शैक्षिक उन्नयनमा क्षति पुर्‍याउने भएकाले समयमै राज्यको ध्यान जानुपर्ने बताउनुभयो । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले पनि गणित शिक्षामा आकर्षण घटेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता सम्मेलनले गणितप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलन आयोजक संस्थाका अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले गणित विषयमा महिलालाई आकर्षित गर्न र गणित विषय सिक्ने–सिकाउने सिलसिलामा विश्वमा विकास भएका नवीन पद्धतिबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

गणित विषयका शिक्षकहरू संस्थागत रुपमा एकताबद्ध हुँदा अनुभव आदान–प्रदान हुने र विश्वमा भएका विकासबारे जानकारी हुने अध्यक्ष थापाले बताउनुभयो । आगामी दिनमा गणित विषयमा महिलालाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्ने संस्थाको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button