तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घका महासचिव गुटेरेसले पाटन दरबारको अवलोकन गर्नुहुने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिनुभएको जानकारीअनुसार पाटन दरबार क्षेत्र अवलोकनका लागि आउनुहुने महासचिव गुटेरेसलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, पाटन दरबार क्षेत्रका प्रमुख मञ्जु सिंह, सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेसहितले स्वागत गर्ने कार्यक्रम रहेको छ । अवलोकन भ्रमणपश्चात् महासचिव गुटेरेस पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रियासमेत दिने कार्यक्रम रहेको नगरप्रमुख महर्जनले जानकारी दिनुभयो । 

उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ । यो सहर बरदेवले स्थापना गराएका हुन् । पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । यहाँ सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदा रहेको छ । पाटन दरबारभित्र  केशव नारायणचोक, मूलचोक र सुन्दरीचोक गरी मुख्य तीन वटा चोक रहेका छन् । केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो । 

नेपालको औपचारिक भ्रमणमा रहनुभएका गुटेरेसको अवलोकन भ्रमणका लागि सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध भइसकेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । विदेशी विशिष्ट व्यक्तित्व नेपाल भ्रमणमा आउँदा राष्ट्रप्रमुख, सरकार प्रमुखसँग भेटघाटसँगै विश्व सम्पदा सूचीमा समावेश पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने परम्परा बन्दै गएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button