तपाईँ सुन्दै हुनुहुन्छः

आइपियुको १४७ औँ महासभामा भाग लिन अध्यक्ष तिमिल्सिना एङ्गोला जाँदै 

काठमाडौँ । अफ्रिकी एङ्गोलाको लुवाण्डामा आयोजना हुने अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४७ औँ महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती  एङ्गोला प्रस्थान गर्दै हुनुहुन्छ । 

अध्यक्ष तिमिल्सिना एङ्गोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३-२७) मा हुने १४७ औँ महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १.५५ बजे  त्यस तर्फ प्रस्थान गर्न लाग्नुभएको हो । 

“शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता” भन्ने नाराका साथ सम्पन्न हुने महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्य द्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चार विज्ञ दुर्गाप्रसाद शर्मा हुनुहुन्छ । 

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डि होस र आयरल्याण्डका माथिल्लो  सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरसँग पनि  पनि भेटवार्ता गर्नुहुनेछ । 

यसैगरी आइपियुको फोरम अफ योङ्ग पार्लियामेन्टमा प्रतिनिधिसभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले सहभागिता जनाउनुहुनेछ । 

महासभासँगै संसद्का महासचिवहरूको सङ्गठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकमा सङ्गठनको कार्यकारी सदस्य समेत रहनुभएका संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सहभागिता जनाउनुहुने कार्यक्रम छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button