तपाईँ सुन्दै हुनुहुन्छः

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव

कास्की । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नेपालीको महान् चाड बडादसैँको अवसर पारेर नवदुर्गा महोत्सव सुरु भएको छ ।

विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित पोखरामा शोभायात्रा निकालेर आज घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवदुर्गा महोत्सव आयोजना गरिएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार यही असोज २८ देखि कात्तिक ६ गतेसम्म नवरात्रि विशेष कार्यक्रम हुनेछ । शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरपालिकाभित्रका विभिन्न टोलका आमा समूह, विद्यार्थी तथा सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

विन्ध्यवासिनीदेखि सुरु भएको शोभायात्रा मोहरीयाटोल, भैरव टोल, महेन्द्र पुल, चिप्लेढुङ्गा, बगाले टोल मोहरीयाटोल हुँदै पुनः विन्ध्यवासिनी मन्दिर परिसरमै पुगेर टुङ्गिएको थियो । शोभायात्रामा देवी दुर्गाका विभिन्न नौ अवतार तथा अन्य देवी देवताको झाँकी निकालिएको थियो ।

घटस्थापनाको दिन आजदेखि मन्दिरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ समेत प्रारम्भ गरिएको छ । महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरिशरण पौडेलबाट सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गरिने बताइएको छ । श्रीमद्देवी भागवतको कथा पूर्वाह्न ९ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म प्रवचन हुने जानकारी श्रेष्ठले दिनुभयो । मन्दिरमा विजया दशमीको नित्य पूजाआजा बिहान ४ बजेदेखि गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

बडादसैँको स्वागतार्थ शोभा यात्रासहित आज घटस्थापना पूजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव सुरु भएको हो । विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आइएको छ । विगतदेखि शक्ति स्थलका रुपमा पुजिँदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button