तपाईँ सुन्दै हुनुहुन्छः

सर्वदलीय बैठक : सन्तुलित रुपमा प्रस्तुत हुन सरकारलाई दलहरुको सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा इजरायल घटनामा दिवङ्गत भएका र प्रभावमा परेका नेपालीहरूको सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा सरकारले इजरायल घटनामा परेका नेपालीहरूको भइरहेको उद्धार तथा प्रगतिको बारेमा प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुभएको नेताहरूले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री प्रचण्डले इजरायल घटनामा नेपालीहरूको पछिल्लो स्थितिको बारेमा जानकारी गराउनुभएको र आफूहरूले सन्तुलित रुपमा अघि बढ्न सुझाव दिएको बताउनुभयो ।

यस्तै, बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले इजरायल घटनामा परेकाहरूको उद्धार र राहतका लागि काम गरिरहेकोले थप दुःखद घटनामा त्यहाँ रहेका कोही नेपाली नपरुन् र परेकाहरूको यथाशीघ्र उद्धार होस् भन्ने किसिमका सुझाव सहभागी दलहरूबाट आएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले सरकारले इजरायल घटना प्रभावितका सम्बन्धमा गरेका निर्णय र सुरु गरेका कामहरूको प्रभावकारी कार्यान्वयनमा नै मूलतः बैठकमा जोड दिइएको बताउनुभयो ।

आजै ४ बजे बसेको मन्त्रिपरिषद् बैठकपछि बेलुकी ५ बजे प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button