तपाईँ सुन्दै हुनुहुन्छः

रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गायिका लोचन भट्टराईको सङ्गीत तथा स्वरमा रहेको ‘भानुभक्त रामायणको गीति सङ्ग्रह’को विमोचन गर्नुहुँदै उहाँले रामायणको श्रवणबाट व्यक्तिलाई आफ्नो कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।

उपराष्ट्रपति यादवले राम कथा साहित्यमा वाल्मीकीय रामायणपछि अध्यात्म रामायणको स्थान रहेको उल्लेख गर्दै नेपाली साहित्यमा भने अध्यात्म रामायणले नै प्रमुख स्थान ओगटेको बताउनुभयो ।

उहाँले काव्यमा हुनुपर्ने तीन गुण (लालित्य, सरलता र विचारको मौलिकता) भानुभक्तको प्रसिद्ध रामायण लगायत अरू फुटकर कवितामा समेत पाइएको उल्लेख गर्दै भन्नुभयो, “भानुभक्तकृत नेपाली रामायण व्यासकृत अध्यात्म रामायणको स्वतन्त्र तथा छोटकरी लेखन हो । यसमा नेपाली भाषामा लेखिएका चार चरणका हजारभन्दा बढी श्लोक छन् ।”

उपराष्ट्रपति यादवले भानुभक्त रामायणको पाठ गर्दा नेपालीपनको आभास जो कोहीले पनि सजिलै गर्न सक्ने बताउनुभयो । नेपालीको हृदय–हृदयमा भक्ति रस भर्न सफल भानुभक्तको कृतिलाई सङ्गीत र सुरिलो स्वरको माध्यमबाट श्रोतासम्म पुर्‍याउनु एउटा सत्कर्म पनि भएको उहाँको भनाइ छ ।

“गायिका तथा सङ्गीतकार भट्टराईद्वारा सङ्गीत तथा स्वराङ्कन गरिएको गीति सङ्ग्रहको संस्करण छन्दबद्ध, कर्णप्रिय, मौलिक र श्रवणयोग्य भएकाले भानुभक्त रामायण थप नेपाली माझ पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ । यसले सदाचारमा प्रवृत्त हुने तथा दुराचारबाट टाढा रहने प्रेरणा प्राप्त हुन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button