तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा विधेयकसम्बन्धी काँग्रेस सांसदहरूद्वारा सरोकारवाला पक्षहरूसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग आज छलफल गर्नुभएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सरोकारवालाहरूसँग भएको छलफलमा सरोकारवाला २० वटा संस्थाका प्रतिनिधिहरूले शिक्षा विधेयकका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभयो ।

छलफलमा सहभागी राहत शिक्षकका प्रतिनिधिहरूले राहत शिक्षकहरू सबै परीक्षामा बस्ने अवसर पाउनुपर्ने, परीक्षामा पास नहुनेलाई गोल्डेन हेन्डसेकको व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभएको छ भने गाउँपालिका र नगरपालिका महासङ्घका प्रतिनिधिहरूले संविधान अनुसारको व्यवस्था हुनुपर्ने लगायतको धारणा राख्नुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयक एउटा महत्वपूर्ण विधेयक भएकाले त्यस विषयमा काँग्रेसले सरोकारवालाहरूसँग छलफल गरेको र छलफलका क्रममा उहाँहरूबाट उठाइएका विषय विधेयकलाई समृद्ध बनाउने खालकै भएकाले काँग्रेसले त्यसलाई परिमार्जन गरी पारित गर्न संसदमा भूमिका खेल्ने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले नेपाली कांग्रेसका सांसदहरुले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा भोलि दिउँसो १ बजे विशेषज्ञहरूसँग र विधेयक बनाउँदा सरकारी पक्षबाट संलग्न विज्ञहरुसँग समेत छलफल गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button