तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्यमन्त्री बस्नेतद्वारा प्रशंसा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गर्नुभएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा उहाँले केन्द्रीय मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्योपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताउनुभयो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका तीन हजार पाँच सय ६५ जनरल शय्या निःशुल्क गरेपछि बागमती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरूका आठ सय शय्या निःशुल्क गरेको थियो ।

विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बागमती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति रु एक लाख सहुलियतमा थप रु ५० हजार उपलब्ध गराइरहेको, हृदय रोगका बिरामीलाई रु एक लाखमा थप गरेर रु एक लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो ।

बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार–प्रसारको कमीले जनमानसमा पुग्न नसकेको बताउनुभयो । उहाँले हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचना पाटीमा लेखेर सबैलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ, सोना परियार लगायतले बागमती प्रदेशले स्वास्थ्योपचारमा उल्लेखनीय काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान गरेको छ । सहिद गङ्गालाल हृदय रोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर अस्पतालसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button