तपाईँ सुन्दै हुनुहुन्छः

ऐन विपरीत प्रयोग हुँदै आएका सम्पूर्ण गाडी फिर्ता गर्न लेखा समितिको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले ऐन विपरीत प्रयोग हुँदै आएका सम्पूर्ण गाडी फिर्ता गर्न निर्देशन दिएको छ ।

ज्येष्ठ सदस्य विक्रमसिंह धामीको अध्यक्षतामा बसेको सार्वजनिक लेखा समितिको बैठकले ऐन विपरीत गाडीहरू प्रयोग गरिएको भन्दै तत्काल फिर्ता गर्न निर्देशन दिएको हो । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन विपरीत प्रयोग भइरहेका सम्पूर्ण गाडी तीन दिन भित्र फिर्ता गर्न निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले बताउनुभयो ।

यहाँ ऐन विपरीत गाडी प्रयोग गरिएको पाइएको छ, जो जसले गाडी प्रयोग गर्नुभएको छ, उहाँहरू सबैलाई तीन दिन भित्र गाडी प्रदेश सभा सचिवालयलाई बुझाउन भनिएको छ उहाँले भन्नुभयो ।

ऐन विपरीत प्रयोग भइरहेका सबै गाडी फिर्ता गराउन यस अघि नै समितिले प्रदेश सभा सचिवालयलाई भनेको उल्लेख गर्दै अझै गाडी फिर्ता नगरेको पाइएपछि तत्काल गाडी फिर्ता गर्न निर्देशन दिइएको उहाँले बताउनु भयो ।  

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति संसदीय दलका नेताहरू तथा प्रमुख सचेतक लगायतले गाडी सुविधा लिनु भएको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनको मुल दफामा गाडी सुविधा सम्बन्धी व्यवस्था गरिएको भएपनि उक्त ऐनको अनुसूचीमा गाडी सुविधा हुनेछ भन्ने नराखिँदा कानूनी समस्या देखिएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले ऐनमा भएको व्यवस्था बमोजिम गाडी प्रयोग गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button