तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा विजयी कवि– कवयित्रीहरूलाई पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का विजयी दश जना कवि–कवियत्रीहरुलाई पुरस्कार प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले विजयी स्रष्टाहरूलाई कदर पत्रसहित पुरस्कृत गर्नुभएको हो ।

यसरी पुरस्कृत हुनेहरूमा काठमाडौँका कवि उमेश पुन, सुनसरीका कवयित्री कृपा करुणा पोखरेल, दार्चुलाका खिमानन्द जोशी, उदयपुरका जीवन आरोही, रोल्पाका टंकबहादुर झाँक्री मगर (समीप वैरागी) रहनुभएको छ ।

यस्तै सुनसरीका कवि तीर्थराज विश्वकर्मा, दाङका नवीन अभिलाषी, डोटीका पूर्णानन्द ओझा, सुनसरीका प्रकाश दिप्साली राई र काठमाडौँका कवयित्री राधिका कल्पित पुरस्कृत हुनुभएको छ ।

ती सबै पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली मौलिक कविताको माध्यमबाट नेपाललाई विश्वमा चिनाउने गरी नेपाली स्रष्टाहरूले काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री किरातीले समाजको सकारात्मक रूपान्तरणमा पनि कविताको भूमिका महत्वपूर्ण रहेकाले स्रष्टाहरूलाई समाजको सकारात्मक रुपान्तरणको संवाहकका रुपमा आफूले देखेको पनि बताउनुभयो ।

समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र उपकुलपति विमलकृष्ण श्रेष्ठले नेपालको हरेक भेग क्षेत्रका स्रष्टाहरूको सिर्जना उजागर गर्न प्रज्ञा प्रतिष्ठान लागिरहेको बताउनुभयो ।

तस्वीर : सुमनचन्द्र रौनियार, सूचना विभाग

प्रतिक्रिया राख्नुहोस्

Back to top button