तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशको राजधानी छिट्टै टुङ्ग्याउँछौ : मुख्यमन्त्री शाह 

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी छिट्टै टुङ्ग्याउने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गोदावरी राजधानी तोकिएको भएपनि विवादित भएकाले छिट्टै टुङ्गोमा पुर्‍याउनुपर्ने दायित्व रहेको बताउनुभयो । 

प्रदेशको राजधानी गोदावरी हुने वा नहुनेबारे गठबन्धनका दलहरूबीचमा आफूले छलफल थालिसकेको उहाँको भनाई थियो । मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छु गोदावरीमा राजधानी बनाउने दुई तिहाइको निर्णय पनि हो । विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन,मुख्यमन्त्री शाहले भने, अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौँ । 

गोदावरीमा राजधानी बनाउने नसकिने अवस्था आए त्यसको विकल्प खोजिने पनि बताउनुभयो ।   एक चरणमा संघीय सरकारसँग यहाँको राजधानीका बारेमा सबै कुरा राखेर विकल्पको बारेमा पनि छलफल अगाडि बढाइने उल्लेख गर्नुभयो  । 

उहाँले विकल्पको रूपमा राजधानी राख्ने ठाउँको नाम भने खुलाउनु भएन । तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेशसभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको छैन । 

मुख्यमन्त्री शाहले तत्काल सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन भइहाल्ने अवस्था नरहेको बताउनुभयो । यदि आवश्यकता महसुस भएको खण्डमा प्रदेशको नामका विषयमा पनि छलफल चलाउन सकिने उनको भनाइ थियो । उनले सुदूरपश्चिममा गठबन्धनको सरकार पाँच वर्षसम्मै चल्ने दाबी समेत गर्नुभयो । मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकास र समृद्धिका पक्षमा प्रदेश सरकार कटिबद्ध भएर अगाडि बढिरहेको औँल्याउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button