तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन स्थापनाका लागि गम्भीर रुपमा काम गर्नुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले बढ्दो भ्रष्टाचारको न्युनिकरण, सुशासन स्थापनाका लागि समितिले गम्भीर रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले मुलुकमा पछिल्लो समय बाहिर आएका भ्रष्टाचारका काण्डहरू, निर्वाचन प्रणालीमा सुधार, निजामती कर्मचारी प्रशासनमा देखिएका समस्या लगायतका विषयमा सरकारसँग छलफल गरी छिटो समाधान गर्न काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले सरकार, राजनीतिक दल र नेताहरूप्रति हेर्ने जनताको दृष्टिकोणमा परिवर्तन ल्याउन पदीय दायित्वमा रहेका सबैले दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिँदै राज्य व्यवस्था समिति झनै गम्भीर बन्नुपर्ने बताउनुभयो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा हाल अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । समितिले यी चार वटा विधेयकहरू माथिको छलफल अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button