तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा वरिष्ठ चलचित्रकर्मीहरू शिव श्रेष्ठ र लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान प्रदान

चलचित्र विधेयक चाँडै आउने मन्त्री शर्माद्वारा जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दीर्घ साधना पुरस्कार वरिष्ठ चलचित्रकर्मीहरू शिव श्रेष्ठ र लक्ष्मी गिरीलाई प्रदान गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ चलचित्रकर्मी शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान २०७९ र लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान २०७८ प्रदान गर्नुभएको हो । 

ती दुवै पुरस्कारको राशि जनही ३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।  

चलचित्र विकास बोर्डले आयोजना गरेको सो समारोहमा राष्ट्रपति पौडेलले विभिन्न चलचित्रकर्मी र संस्थाहरूलाई राष्ट्रिय चलचित्र पुरस्कार पनि प्रदान गर्नुभयो । 

राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नेमा उत्कृष्ट लेखन तर्फ चलचित्र चिसो मान्छेका दीपेन्द्र के खनाल रहनुभएको छ भने उत्कृष्ट छायाङ्कन तर्फ चलचित्र लप्पन –छप्पनका पुरुषोत्तम प्रधान, उत्कृष्ट सम्पादन तर्फ चलचित्र दोखका निमेश श्रेष्ठ, उत्कृष्ट अभिनेतृ तर्फ चलचित्र प्रकाशबाट दिया मास्के, उत्कृष्ट अभिनेता तर्फ चलचित्र महापुरुषका हरिवंश आचार्य रहनुभएको छ । 

यस्तै उत्कृष्ट निर्देशकतर्फ चलचित्र प्रकाशका दिनेश रावत, उत्कृष्ट चलचित्र आदिवासी जनजाति तर्फ गुरुङ भाषाको चलचित्र हिउलन छ्याङ्वाका भोजबहादुर गुरुङ रहनुभएको छ भने ऐना झ्यालको पुतली र गोर्खा व्रेभरी चलचित्रले पनि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्न सफल भएका छन् । 

सोही समारोहमा राष्ट्रपति पौडेलले विशेष चलचित्र पुरस्कार २०७८ चलचित्र टुल्की र निरमायाँ निर्माण कर्तालाई प्रदान गर्नुभयो ।

यस्तै राष्ट्रपति पौडेलले विशेष चलचित्र पुरस्कार २०७९ चलचित्रहरू बुँलाकी, प्रसाद–२ र चिसो मान्छेका निर्माणकर्तालाई प्रदान गर्नुभयो । ती सबै पुरस्कारको राशि जनही २ लाख रुपैयाँ नगद रहेको छ ।

सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान बापत विभिन्न ३५ जना चलचित्र कर्मी र संस्थाहरूलाई कदरपत्र सहित सम्मान गरिएको थियो । 

पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको जानकारी दिनुभयो । 

मन्त्री शर्माले नेपाली चलचित्र समाजको सकारात्मक रुपान्तरणका लागि सशक्त माध्यम भएकाले यसको विकास र विस्तारका लागि सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको र विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आसा गरेका धेरै कामहरू सम्पन्न हुने बताउनुभयो । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button