तपाईँ सुन्दै हुनुहुन्छः

महिलालाई उद्यमी बनाउन ढकिया र झोला बनाउने सीप सिकाइँदै

नेपालगञ्ज । महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले नेपालगञ्जमा काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउने सीपमूलक तालिम सुरु भएको छ ।

‘एकल महिला क्षमता अभिवृद्धि तथा नव उद्यमी उत्पादन सीपमूलक तालिम कार्यक्रम’ अन्तर्गत नेपालगञ्जमा सुरु भएको तालिम एक सातासम्म चल्नेछ ।

महिला उद्यमी संघ नेपाल बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को समन्वयमा तालिम सुरु भएको हो । तालिम नेपालगञ्जस्थित कोशेली घरको हलमा वैशाख १६ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । तालिममा नेपालगञ्ज नगरभित्रका १० जना एकल महिला र १० जना अन्य महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

१ लाख रुपैयाँ लागतमा सुरु भएको तालिमका सहभागी १० जना एकल महिलाको लागि ५० हजार रुपैयाँ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ ले र १० जना अन्य महिलाहरूको तालिमको लागि ५० हजार रुपैयाँ आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले आर्थिक सहयोग गरेको छ ।

तालिममा सहभागी महिलाहरूलाई काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउन सिकाउने महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोख्ररेल बस्नेतले बताउनुभयो । महिलाहरूलाई सीप सिकाएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बन्नको लागि तालिम अति उपयोगी भएको उहाँले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले घरमा बसेर श्रम खेर फालिरहेका महिलाहरूलाई रोजगारी दिनको लागि कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । तालिममा प्रशिक्षक अन्जली चौधरी र कमल चौधरीले सहजीकरण गरिरहनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button