तपाईँ सुन्दै हुनुहुन्छः

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : मन्त्री भुसालसँग छलफल

काठमाडौँ । प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पशु चौपायामा देखा परेको लम्पी स्किन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुषाल र मन्त्रालयका सचिव लगायत सम्बद्ध अधिकारीहरूसँग छलफल गरेको छ ।

छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा.भुषालले लम्पी स्किन रोग नियन्त्रणका लागि विदेशबाट भ्याक्सिन ल्याउने, गाइवस्तुमा लगाउने, जनचेतना जगाउने लगायतका काममा सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो ।

मन्त्री डा. भुषालले हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार भन्दा बढी गाइवस्तुलाई लगाइसकिएको जानकारी दिनुभयो ।

मन्त्री डा.भुषालले रोगबाट मरेका गाइवस्तुको क्षतिपूर्ति दिनका लागि आधार र मापदण्ड सहितको कार्यविधिको मस्यौदा तयार भएको र अब त्यो छिट्टै ल्याएर काम अगाडी बढ्ने बताउनुभयो ।

मन्त्री भुषालले आगामी दिनमा पनि यस्ता रोग आउन सक्ने सम्भावना भएकाले दिगो रुपमा यसको समाधानका लागि स्वदेशमा नै खोप उत्पादन गर्न विदेशबाट सिड भाइरस ल्याउने पहल भइरहेको जानकारी गराउनुभयो ।

मन्त्रालयले हालसम्म लम्पी स्किन रोगबाट १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित भएकोमा १० लाख ८२ हजार १ सय ५९ पशु उपचार पश्चात् निको भएको जनाएको छ ।

हाल १ लाख ७५ हजार ५ सय ५३ पशु सक्रिय संक्रमित रहेको र ४७ हजार ६ सय ४९ वटा पशु रोगका कारण मरेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी १३ लाख ६९ हजार डोज खोप आयात गरिएकोमा ६ लाख ८६ हजार ४ सय ५० खोप गाइवस्तुमा लगाइसकिएको र बाँकी खोप लगाउने काम जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button