तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजको आईसिपी र सुख्खा बन्दरगाह भन्सारबाट चालु आवमा १ खर्ब ९९ अर्ब राजश्व सङ्कलन

बीरगंज  । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आईसिपी बीरगंज र मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९÷०८० मा १ खर्ब ९९ अर्ब ४८ करोड राजस्व असुली भएको छ । 

अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई आर्थिक बर्ष २०७९÷०८० मा २ खर्ब ६० अर्ब ९७ करोड २ लाख ८ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिएको थियो । तर वीरगन्ज भन्सारले लक्ष्यको ६०.२० प्रतिशत मात्र अर्थात् १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ मात्र राजश्व सङ्कलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताउनुभयो ।

वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा भने लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा वीरगन्ज भन्सारले लक्ष्यभन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढी नै अर्थात् भन्सार विभागले दिएको लक्ष्यभन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैयाँ बढी राजश्व सङ्कलन गरेको थियो । 

गत आर्थिक वर्षमाका लागि भन्सार विभागले २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार रुपैयाँको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । 

त्यस्तै वीरगन्जमै रहेको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि आर्थिक वर्ष २०७९÷०८० मा लक्ष्यको ६२.८८ प्रतिशत मात्रै राजश्व सङ्कलन गर्न सकेको छ ।

भन्सार विभागले आर्थिक वर्ष २०७९÷०८०मा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिएको थियो । तर उक्त भन्सारले पनि लक्ष्यको ६२.८८ प्रतिशत मात्रै अर्थात् ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन गर्न सकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताउनुभयो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले गत आर्थिक वर्ष २०७९÷०८० मा राजश्व सङ्कलनको लक्ष्य पुरा गर्न नसक्नुको प्रमुख कारण विश्वव्यापी आर्थिक मन्दी भएको बताउनुभयो । 

यसका साथै बढी राजश्व उठ्ने पेट्रोलियम पदार्थ, नयाँ सवारी साधन र औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएका कारणले पनि त्यसको असर राजश्व सङ्कलनमा परेको पन्थीले बताउनुभयो  ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले विश्वव्यापी आर्थिक मन्दीको असर सुख्खा बन्दरगाह भन्सारको राजश्व असुलीमा समेत परेको उल्लेख गर्नुहुँदै यस नाकाबाट आउने विलाशिताका बस्तुको आयात लगाइएको प्रतिबन्धले पनि राजस्व असुलीमा प्रभाव परेको बताउनुभयो । 

मुलुकको कूल आयात निर्यातको झण्डै ७० प्रतिशत कारोबार हुने वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालय आर्थिक वर्ष २०७९÷०८० मा राजश्व सङ्कलनको लक्ष्य पुरा गर्न असफल भएसँगै यसको प्रभाव देशकै अर्थतन्त्रमा पर्ने भन्दै अर्थविद्हरूले चिन्ता प्रकट गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button