तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगण्डकी ‘रेडी टु गो’ आयोजना हो : प्रधानमन्त्री दाहाल

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना ‘रेडी टु गो’ (च्भबमथ तय न्य) आयोजना भएको बताउनुभयो । गोरखाको सिउरेनीटारमा आज बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । 

हिउँद र वर्षातको समयमा हुने विद्युत् असन्तुलनलाई बुढीगण्डकी जलविद्युत आयोजनाले समाधान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । यस आयोजनामा मुआब्जा वितरण सकिएर डिपिआर भैसकेको र अध्ययन प्रतिवेदन समेत प्राप्त भएकाले कुनै पनि तर्क र बहानामा आयोजनामा ढिलाइ नहुने प्रधानमन्त्री दाहालले बताउनुभयो । 

बुढी गण्डकी जलविद्युत आयोजनामा सरकारको ४३ अर्ब लगानी भैसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गोरखा र धादिङका जनताले पचासौँ  हजार रोपनी जग्गा दिनुभएको छ, आफ्नो थाकथलो छोड्नुभएको छ, सामाजिक र मानसिक रुपमा उहाँहरू विस्थापित हुनुभएको छ, राज्यलाई यति धेरै सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद प्रदान गर्दछु । बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रको रिङरोड व्यवस्थापन, बजार व्यवस्थापन, पुर्नवासका कार्यक्रम जनताको सहभागितामा अघि बढाइनेछ ।” 

बुढीगण्डकी आयोजना निर्माणका लागि चाहिने करिब २ खर्व रुपैयाँ विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बिमा संस्थान लगायतका संस्थासँग सहकार्य गरिने प्रधानमन्त्री दाहालको भनाई छ । 

देशभित्र विद्युतको खपत बढाउने र धेरै भएको विद्युत् १० वर्ष भित्र १० हजार मेगावाट भारतलाई विक्री गर्ने गरी सम्झौता समेत भएको उहाँले बताउनुभयो । विदेशमा बिजुली विक्री गरेर विदेशी मुद्रा आर्जन गरिने र देशको अर्थतन्त्रलाई बलियो बनाउने योजना सरकारको रहेको उहाँको भनाइ छ । बुढीगण्डकी जलविद्युत आयोजनाले सिङ्गो देशको विकासमा महत्त्व राख्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । सामान्य रुपमा हेर्दा महँगो जस्तो लागेपनि बहुउद्देश्यीय आयोजना भएकोले राज्यको अर्थतन्त्रमा कायापलट हुने उहाँको भनाइ छ । 

आफूले निर्वाचनमा प्रतिबद्धता गरे अनुसार बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको प्रधानमन्त्री दाहालले बताउनुभयो । छिटो भन्दा छिटो आयोजनाको शिलान्यास गर्न आफू आउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको विकासको लागि केही भिन्न रुपमा  लागि परेको र विकासका लागि दृढ सङ्कल्प लिएको प्रधानमन्त्रीले बताउनुभयो । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन ढिला गर्न नहुने बताउनुभयो ।  प्रमुख कार्यकारी अधिकृत डाक्टर जगत कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव एवं बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष दिनेश कुमार घिमिरेको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button