तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका आठै स्थानीयतहले ल्याए बजेट: कुन पालिकाको कति ?

जुम्ला।जुम्लाका आठै स्थानीयतहले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याएका छन् । असार १० गते अनिवार्य नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान अनुसार जुम्लाका एक नगरपालिका सहित आठ वटै स्थानीयतहले नीति कार्यक्रम सहित बजेट ल्याएका हुन् ।

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४७ करोड ४६ लाख १९ हजार बराबरको बजेट ल्याएका छन् । कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन,रोजगार र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै जुम्लाका स्थानीयतहले नीति कार्यक्रम र बजेट ल्याएका छन् ।

उत्पादनका आधारमा अनुदान दिने,वितरणमुखी योजनालाई अन्त्य गर्ने,सङ्घीयताको अनुभूति हुनेगरी आधारभूत पूर्वाधारको विकास गर्ने लक्ष्य सहित बजेट ल्याइएको छ ।

कुन पालिकाको कति बजेट ?

जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाले जिल्लाकै सबैभन्दा ठुलो बजेट ल्याएको छ । संघ प्रदेशबाट प्राप्त हुने विभिन्न चार वटा राजश्वका शीर्षक अन्तर्गत रहेर चन्दननाथ नगरपालिकाले ५५ करोड १० लाख ८० हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

चन्दननाथलाई सफा सहरका रुपमा विकास गर्ने लक्ष्य सहित बजेटमा रोजगारी सृजना र उत्पादन बुद्धिलाई जोड दिएको छ ।
त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले बजेटको रोजगार,उत्पादन वृद्धि र पर्यटनलाई प्राथमिकता दिँदै कुल ४९करोड २७ लाख ३१ हजार बराबरको बजेट ल्याएको उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।

भने,उद्यमी,युवा व्यवसायीलाई निरब्याजी ऋण दिने,सहुलियत कर्जा उपलब्ध गराउने,सञ्चार नीति बनाउने,जेष्ठनागरिकको निःशुल्क उपचार गर्ने जस्ता नीति कार्यक्रम ल्याएको अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो ।

त्यस्तै,तिला गाउँपालिकाले आगामी आवका लागि ४४ करोड ९२ लाख ८४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष गोरीकला बुढाका अनुसार कृषिको व्यवसायीकरण,आफ्नै रेडियो सञ्चालन गर्ने,जेहेन्दारलाई छात्रवृत्ति दिने लगायतका नीति ल्याइएको छ ।

उता हिमा गाउँपालिकाले एक वडा,एक उत्पादन पकेट क्षेत्र निर्धारण,एकल पुरुषलाई भत्ता जस्ता नीतिलाई प्राथमिकता दिँदै १४ आँै गाउँसभाबाट ३९ करोड ९७ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । अध्यक्ष लक्ष्मण बहादुर शाहिले सङ्घीयताको महसुस गराउने गरी हिमाले जनताको काम गर्ने बताउनुभयो ।

साथै सिञ्जा गाउँपालिकाले खषभाषा र सभ्यता कृषि पर्यटन क्षेत्रलाई जोड दिँदै ३७ करोड ३९ लाख २० हजार बराबरको बजेट ल्याएको उपाध्यक्ष सित्तली रोकायाले बताउनुभयो । उहाँका अनुसार बजेटले किसान,उद्यमी वर्ग विशेष सम्बोधन गरेको छ ।

त्यस्तै,कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार ८ सय बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीले बताए । भने पातारासी गाउँपालिकाले कृषि,पर्यटनलाई प्राथमिकता दिएर ४० करोड ४५ लाख ३७ हजारको बजेट सभामा प्रस्तुत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

उता गुठिचौर गाउँपालिकाले भने जिल्लाकै न्युन बजेट प्रस्तुत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गम बहादुर रोकायाकानुसार गुठिचौरले ३२ करोड ५८ लाख २५ लाख ७ सय को बजेट ल्याएको छ ।

आठै पालिकाको नीति तथा कार्यक्रम पारित भएपनि बजेट माथि छलफल भोलीदेखि प्रारम्भ हुने छ । विगतको तुलनामा स्थानीय तहले वितरणमुखी भन्दा आम नागरिकका आवश्यकताका आधारमा बजेट विनियोजन गरेको पाइएको छ ।

भने केही स्थानीयतहको महत्त्वाकाङ्क्षी नीति तथा कार्यक्रमअनुसार बजेट आएको छ । यद्यपि, स्थानीयतहका प्रमुखहरुले विनियोजन बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button