तपाईँ सुन्दै हुनुहुन्छः

जलेश्वर नगरपालिकाको बजेट ७१ करोड ५३ लाख

बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७१ करोड ५३ लाख बढीको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नगरपालिकाको ११ औँ नगरसभामा मेयर सुरेश साह सोनिरले ७१ करोड ५३ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

संघीय सरकारबाट प्राप्त हुने अनुदान ६४ करोड ३७ लाख ५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान २ करोड १६ लाख ७५ हजार र नगरपालिकाको आन्तरिक स्रोत एवं बैंक मौज्दातबाट ५ करोड गरी ७१ करोड ५३ लाख ८० हजार रुपैयाँको अनुमानित आय मेयर सोनिरले प्रस्तुत गर्नु भएको हो । 

दिगो नतिजामूलक विकासको लागि आवश्यक गुरुयोजना तयार गरी अगामी वर्ष आवधिक नगर विकास योजना, भू–उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा निरन्तरता दिइने नीति लिएको मेयर सोनाले बताउनुभयो । 

‘पवित्र सुन्दर हरित समृद्ध, जलेश्वर’ भन्ने नारालाई सार्थक तुल्याई नगरपालिकालाई पूर्ण सरसफाइलाई निरन्तरता दिई सरसफाईमा नमूना सहरको रूपमा स्थापित गरिने लक्ष्य रहेको मेयर सोनिरले बताउनुभयो । 

नगरपालिकामा एक सय दिन स्वच्छता अभियान सञ्चालन गरी नगरपालिकालाई फोहोर मुक्त बनाइने र प्लास्टिकजन्य झोलाको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइने योजना रहेको छ । जलेश्वर नगर क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण नागरिकहरूको लागि स्वच्छ खानेपानीको प्रबन्ध गर्न नगरपालिका र नेपाल खानेपानी संस्थानसँग समन्वय गरी ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गरिने नीति लिएको उहाँले बताउनुभयो । 

‘एक विद्यालय एक खेल मैदान’ को अवधारणा अनुसार खेल पूर्वाधार विकास गरिनुका साथै ‘एक विद्यालय एक विज्ञान ल्याब’ व्यवस्थापनका लागि विद्यालयहरूलाई सहयोग गरिने योजना रहेको उल्लेख छ । नगरपालिका क्षेत्रमा जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्था तथा नीजि क्षेत्रहरूसँग समन्वय गरी एकिकृत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सुनिश्चित गरिने मेयर सोनिरले प्रतिबद्धता जनाउनुभयो । 

प्रादेशिक अस्पताल जलेश्वरको स्तरोन्नति र सेवा सञ्चालनमा सहजता ल्याउन सरोकारवाला निकायहरूसँग समन्वय गरी आधुनिक उपकरणसहित विशेषज्ञ चिकित्सकसहित सेवा प्रवाहको व्यवस्था मिलाउँदै सबै स्वास्थ्य चौकीहरूको समेत पूर्वाधार विकासमा आवश्यक सहयोग पु¥याई विभिन्न अति आवश्यक ९८ किसिमका औषधिहरू निःशुल्क उपलब्ध गराइने बताउनुभयो । 

एक नगर एक उत्पादनको लागि जलेश्वरको पहिचानको रुपमा रहेको आँप खेती र माछा पालनलाई प्रोत्साहन गरिने योजना रहेको बताउँदै उहाँले जलेश्वरमा एक कृषि उपज बजार, फलफूल मन्डी, शीत भण्डार तथा विषादी परिक्षण प्रयोगशाला स्थापना गर्न संघीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य गरिने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button